तपाईहरुले आफूलाई नयाँ शक्ति भन्नु हुन्छ तपाईहरु नयाँ कि वैकल्पीक ?
हामीले २०७३ सालमा नयाँ शक्ति पार्टी स्थापना गरेका हौं । हामीले त्यस बेला पार्टी स्थापना गर्दा पुराना शक्तिहरुको विकल्पमा नयाँ शक्ति भनेका हांै । त्यही भएर नयाँ र वैकल्पीक भने पनि मैले भने हामी नयाँ र वैकल्पीक मात्र होइनौं अग्रगामी र निरविकल्पीक शक्ति भन्न रुचाउछु ।
यहाँले आफूहरुलाई निरविकल्प शक्ति भने पनि परिवर्तन दुनियाँमा निरविकल्प भन्ने हुन्छ र ?
अवश्य पनि गतिशील दुनियाँमा निरविकल्प भन्ने हुँदैन मैले भन्न खोजेको समय सिमाको कुरा हो अर्थात अहिलेको निरविकल्प शक्ति भन्न खोजेको हुँ । किनकि विकल्प भन्दा साथ राम्रोको ठाउँमा नराम्रो पनि हुन सक्छ । अग्रगामी भन्दा पश्चागामी पनि हुन सक्छ । त्यसैले हामीले अग्रगामी र निरविकल्प भनेका हौं ।
विकल्प भन्ना साथ चियाको ठाउँमा कफि वा जुस हुन सक्छ तर तपाईहरुले त अहिलेकै संघीय गणतान्त्रीक व्यवस्थालाई आधा गिलास चिया भन्दै यसैलाई भरी बनाउने भन्नु हुन्छ भनेको त चियाको ठाउँमा चिया नै भएन र ?
नेपालको संविधान२०७२को सन्र्दभमा पार्टी संयोजक डा.बाबुराम भट्टराईले आधा गिलास भरी भन्नु भएको हो । किनकि २०७२को संविधान सम्झौताको दस्तावेज हो । नेकपा एमाले,नेपाली काँग्रेस, नेकपा माओवादी, मधेश केन्द्रित दलहरु, आदिबासी जनजाति आन्दोलन, पहिचानको मुद्धा उठाउने आन्दोलन सबैको सहमति खोज्दा कयौं कुरा त्यसबेला बाबुराम भट्टराईले चाहे जस्तो भएन उहाँ संविधान लेखन समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो ।
संविधानमा आदिबासी जनजाति र खासगरी समावेशीता र पहिचानका मुद्धाहरु ठिक रुपले सम्बोधन गर्न नसकेको तथा संघीयताको समेत सोचेजसरी व्यवस्था गर्न नसकेकोले उहाँले आधा गिलास भरिएको पानी भन्नु भएको हो । यो एउटा मानकको रुपमा भनिएको हो समावेशीता र संघीयताका मुद्धा सहि रुपले सम्बोधन गर्न सके मात्र भरी गिलास हुन सक्छ भन्न खोज्नु भएको हो ।
तपाईहरुले भन्दा खेरी अहिलेको नारा समृद्धिको नारा हो भन्नु हुन्छ तर व्यवहारमा समावेशीता, संघीयता प्रत्यक्ष निर्वाचित राष्ट्रपति जस्ता राजनीति एजेण्डा नै उठाउदै आउनु भएको छ तपाईहरुको प्राथमिकता आर्थिक समृद्धिमा हो कि राजनीतिक एजेण्डामा ?हामीले अहिले सम्वृद्धिलाई आफ्नो लक्ष्य बनाएका छांै त्यो लक्ष्यमा पुग्न विभिन्न ५ वटा खुट्किलाहरु पार गर्नु पर्दछ भन्ने हाम्रो भनाई हो । जसलाई हामीले पाँच “स” संष्लेषण गरेका छौं । जसमा पहिलो स हो समावेशीता र संघीयता । दोस्रो स मा सुशासन र सदाचारलाई लिएका छौं । तेस्रो स मा राष्ट्रिय स्वाधिनता भनिरहेका छौं । यि राजनीतिक एजेण्डा हामीले किन उठाईरहेका छौं भने जबसम्म राजनीतिक समस्या हल हुँदैन तबसम्म देशमा राजनीतिक स्थायित्व र शान्ति हुँदैन त्यसैले विकासका लागि शान्ति चाहिन्छ अनि सुशासन विना पनि सवृद्धि सम्भव छैन त्यसैले सुशासन र सदाचारको कुरा गरेका छौं । यसका निम्ति जनलोकपाल हुनुपर्दछ भनेका छौं । यसैगरी भारत, चीन, युरोप, अमेरिकासँग सन्तुलित सम्बन्ध राख्दै राष्ट्रिय स्वाधिनता कायम गर्दै समृद्धिको खुड्किलामा पुगेर सम्मुन्त समाजवादमा जान सकिन्छ भन्ने हाम्रो भनाई हो ।
अहिले आर्थिक समृद्धि त सबैले भन्छन् अरुको भनाई र तपाईहरुको भनाईमा फरक कहाँ निर हो ?
हो तपाईले प्रश्न गरे जस्तै अहिले सबैले आर्थिक सम्वृद्धि भन्ने गरेका छन् । तर उनीहरुको भनाई अनुरुपको कार्यक्रम छैन । सम्वृद्धि शब्द सबैभन्दा पहिला बाबुराम भट्टराईले अगाडि ल्याउनु भएको हो पछि सबैले त्यहि शब्दलाई समाते । कसैले सम्वृद्ध नेपाल सुखी नेपाली भने कसैले यस्तै यस्तै अरु कुराहरु भने तर व्यवहार हेर्ने हो भने उनीहरुले बाबुरामको शब्द मात्र प्रयोग गरेका हुन् उनीहरु सँग कुनै कार्यक्रम छैन एकातर्फ भन्छन्, गर्छन् अर्को तर्फ । अहिले पनि दैनिक हजारौं युवाहरु विदेश गईरहेका छन् सरकार सँग विदेशमा गएका युवा फर्काउने कुनै योजना छैन । पूर्व प्रधानमन्त्रीहरुले नै फ्रि भिजा फ्रि टिकट दिएर युवाहरुलाई विदेश पठाई दिन्छु भन्नु हुन्छ । उहाँहरुसँग सम्वृद्धि कसरी ल्याउने भन्ने कार्यक्रम छैन हामीले भने पाँच “स”मा सबै कुरा स्पष्ट पारेका छौं ।
यहाँले हामी अरु भन्दा फरक भने पनि पाउँदा त पुराना दलसँग मिलेरै सरकारमा गइरहनु भएको छ। कहिले जसपाको नाममा कहिले नेसपाको नाममा अहिले भएका एकजना सांसदपनि गण्डकी सरकारको मन्त्री नै हुनुहुन्छ ?
यहाँले भने जस्तो विगतमा केही कमीकमजोरी भएका हुन् । जसलाई हामीले स्वर्कारेर सुधार्ने प्रतिबद्धता जनाएका छौं । तपाईले प्रश्न गर्नु भए जस्तै जसपा, नेसपा हुदाँ साथीहरु सरकारमा जानु भएको हो । सके सरकारमा नजाऊ गएपछि अरु भन्दा भिन्न काम गरौं भनेर हामीले भन्यौं त्यो अनुरुप नभएपछि अहिले विगतमा मन्त्री भन्ने सरकारमा जाने कोही साथीहरु पनि हामी सँग हुनुहुन्न । जहाँसम्म गण्डकी प्रदेशको सरकारमा सामेल भएको कुरा छ ।
त्यहाँ सरकारलाई समर्थन नगर्ने हो भने मध्यावधी चुनावमा जानु पर्ने अवस्था आयो । त्यसमा त्यसैपनि आर्थिक संकट छ चौविस पच्चीस खर्व विदेशी ऋिण छ त्यस्तो बेलामा फेरी मध्यावधी चुनावमा जाँदा अर्को अरवौं खर्च हुने भएकोले हाम्रो प्रदेश कमिटिले उहाँलाई सरकारको पक्षमा मतदान गर्न भनेको हो । उहाँ सरकारमै गएपछि पनि अरुको काम गराई र उहाँको काम गराईमा फरक छ । त्यो नागरिक ले बुझ्नु पर्दछ ।
तपाईहरुले वैकल्पीक शक्ति भन्नु हुन्छ संगठन, व्यवहार र एजेण्डामा यहाँहरु अरु भन्दा कसरी वैकल्पीक हुनुहुन्छ ?
हामीले जति बेला दशरथ रङगशालामा पार्टी स्थापना गरेका थियौं त्यो बेला एक लाख भन्दा बढीको उपस्थिति रहेको थियो । पार्टी स्थापना गर्दा विभिन्न दल, पूर्व कर्मचारी, स्वतन्त्र व्यक्तित्वहरु र विविध क्षेत्रका व्यक्तित्वहरु सहभागि हुनु भएको थियो । त्यसबेला डा.बाबुराम भट्टाईको क्रेज थियो । बाबुरामको पछि लाग्दा छिटो सांसद र मन्त्री भईन्छ भन्ने आत्म केन्द्रित सोंचाई साथ कयौं व्यक्तिहरु आउनु भएको रहेछ । हामीले त्यसबेलै अहिले स्थानीय तहको निर्वाचनमा भाग नलिउ भन्यौ ।
दुई वर्ष अभियानमै लागौं भन्यौं तर हामी संगठनको तल्लो तहमा भएकोले हाम्रो कुरा सुनुवाई भएन । सांगठनीक रुपमा वैकल्पीक हुन नसक्दा त्यति ठूलो उपस्थितिलाई हामीले संगठनमा ढाल्न सकेनौं । यही कुरोलाई आत्मा साथ गर्दै उक्त कुरा अहिले विधानमै हल गरेका छौं । हाम्रो विधानमा ४० वर्ष मुनिका बाट २० प्रतिशत युवा केन्द्रिय सदस्य हुनुपर्छ भन्ने स्पष्ट व्यवस्था छ । अरु दलमा यस्तो व्यवस्था छैन त्यसै गरी समावेशीताको कुरामा पनि हामी अरु भन्दा फरक छौं । हाम्रो विधानमा स्पष्ट रुपमा पूर्ण समानुपातिक र समावेशीता भन्ने छ । जस्तो कि अहिले ३६ प्रतिशत आदिवासी जनजाति छन् ।
अहिले अन्य दलले १ जना आदिवासी जनजाति राखि दिए पछि समावेशीता भयो भन्छन् । तर हामीले यस्तो होइन पूर्ण समानुपातिक समावेशीता हुनपर्छ भन्यौ र यो विधानमै लेखेका छौं यसो भनेको के हो भने जसको जनसंख्या जति प्रतिशत छ त्यति प्रतिशत हरेक ठाउँमा छुटउनु पर्दछ भन्ने हो । यसको मतलब नेपालमा भएका सबै जातजातिलाई उनीको जनसंख्या जति छ त्यहि रुपमा पार्टीमा प्रतिनिधित्व गराउनु पर्दछ भन्ने हामीले स्पष्ट रुपमा विधानमा लेखेका छौं त्यो लागु गर्दछौं बरु कुनै बाट प्रतिनिधित्व भएन भने त्यो खाली ठाउँ छाड्छौं । पहिला यो कुरा पार्टीमा लागु गर्दछौं त्यसपछि पार्टी सत्तामा पुगेपछि सत्तामा पनि लागू गर्दछौं ।
यो कुरा अन्य दलभन्दा हाम्रो संगठन र व्यवहार दुवैमा फरक छ । यसै गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र देशलाई सम्वृद्धिमा लैजान पाँच “स” रोडम्याप बाट अगाडि बढ्छौं । त्यसैगरी संविधानमा समाजवाद उन्मुख भनेर लेख्ने पनि डा. बाबुराम भट्टाई नै हो, न कि प्रचण्ड, शेर बहादुर देउवा वा केपी ओली । त्यसैगरी हामीले न कम्युनिष्टले भने जस्तो राज्य केद्रित समाजवाद भन्छांै न त पूँजिवादी व्यवस्थाले भने जस्तो खुल्ला अर्थतन्त्र भएको समाजवाद भन्छौं हामीले त दुवैमा भएका कमजोर पक्षलाई हटाएर राम्रा पक्षलाई लिर्दै नयाँ दर्शन सिर्जना गरेर अगाडि बढ्नु पर्दछ भनेका छौं जसलाई हाम्रो भाषामा सम्मुन्त समाजवाद भनेका छौं ।
तपाई नेसपा नयाँ शक्तिको जनवर्गीय संगठनको इञ्चार्ज हुनुहुन्छ जति कुरा गरेपनि तपाईहरुले पनि अरु दलले जस्तै विद्यार्थीलाई क्याम्पसमा ताला लगाउन भन्ने, शिक्षकलाई विद्यालयमा ताला लगाउन भन्ने, कर्मचारीलाई कार्यालयमा जनताको सेवा भन्दा राजनीतिक गर्न निर्देशन दिने त होला नि होइन र?
अवश्य पनि तपाईले भने जस्तै म संगठनहरुर्को हुँ । तर हामीले कतै पनि ताला लगाउन पठाएका छैनौं र हाम्रो मान्यता ताला लगाउन हुन्न भन्ने हो । त्यसैगरी पेसागत संगठनहरुले पार्टी पिच्छे संगठन नबनाई अधिकार प्राप्तीका लागि एउटै साझा टेड्र युनियन बनाएर अगाडि बढ्नु पर्छ भन्ने हो। अहिलेको अवस्थामा साझा टेड्र युनियन छैन साझा टेड्र युनियने नहुँदासम्म एउटै साझा टेड्र युनियन हुनु पर्दछ भनेर माग गर्नकालागि पनि अहिले अलग संगठन चाहिएको हो । साझा टेड्र युनियन भएपछि उनीहरुले पार्टीको झण्डा बोक्न हुन्न भन्ने हाम्रो स्पष्ट भनाई छ । यही कुरो सबैलाई भन्नको निम्ति अहिले हामीले पेसागत संगठन बनाएका हौं ।
यहाँले टेड्र युनियनका नेतृत्वले आफ्नो अधिकार माग्नु पर्दछ ताला लगाउँदै हिड्ने होइन भने पनि विभिन्न संगठनका अध्यक्षहरुले आफैं ताला लगाउने र धम्काएर रकम उठाई कमाउने गरेका छन् नि ?
अरु पार्टी निकट संगठनका नेतृत्वमा यस्तो समस्या देखेको छ । तर हामीले यस्ता कुराहरुमा निरुत्साहित गरेकाले हाम्रा शुभेच्छुक संगठनका नेतृत्वमा यस्तो समस्या छैन । हाम्रा त मजदुर साथीहरुले पनि मजदुरका हकहित र राष्ट्रिय पूँजिपतिको संरक्षण गर्दै मजदुरका हकपनि दिलाउने राष्ट्रिय पूँजिको विकास पनि गर्ने गरी अगाडि बढी रहनु भएको छ ।
तपाई यस अघि नेसपा नयाँ शक्तिको प्रवास प्रदेशको इञ्चार्ज हुनुहुन्थ्यो देशमा रोजगारीको अवसर नपाएर विदेश गएकालाई पनि तपाईहरुले राजनीतिकमा ल्याउन नछाड्ने हुनु भयो होइन त ?
हामीले विदेशमा गएका नेपालीहरुसँग पैसा उठाउने वा उहाँहरुलाई दु:ख दिने उद्देश्यले संगठीत गरेका होइनौं । यहाँलाई थाहा छ अहिले नेपालका ८० लाख मान्छेहरु विदेशमा छन् । यी मध्ये धेरै भारत र अरु तेस्रो मुलुकमा रहेका छन् । उहाँहरु नेपालमा भएको भए देशलाई अर्कै ठाउँमा पुराउनु हुने थियो ।
तर यहाँ भने जस्तो नभएपछि आजित भएर उहाँहरु विदेशमा जानु भएको हो । यहाँ आजित भएर विदेश गए पछि पनि दलहरुलाई पैसा पठाउने स्रोतको रुपमा उहाँलाई प्रयोग गर्नु हुन्न भन्ने हाम्रो पार्टी र मेरो मान्यता हो हामीले त संगठीत गरेको उहाँहरुको अधिकारको निम्ति हो । जस्तो कि म इञ्चार्ज भन्नु अघि एक जना मात्र केन्द्रिय सदस्य हुनुहुन्थ्यो अहिले प्रवास प्रदेशबाट १६ जना केन्द्रीय सदस्य हुनुहुन्छ । म जनपरिचालन विभागको इञ्चार्ज हुँदा पनि उहाँहरुका मुद्धा सम्बोधन गर्ने हिसाबले हाम्रो पार्टीले “जहाँ छ ज्यान त्यहिबाट मतदान” भन्ने नारा ल्याएका छौं ।
हाम्रो भनाई के हो भने जसले रगत पसिना बगाएर पठाएको रेमिटेन्सले देश चलेको छ उनीहरुले अहिले मत दिन पाएका छैनन । उनीहरुले पठाएको रेमिटेन्सले देशका नेताहरु गाडि चडेर हिड्ने त्यसमै भष्ट्रचार गर्ने तर उनीहरुलाई मतदान गर्ने अधिकार दिन कुनै पहल नगर्ने गरिरहेका छन् । यस्तो हुनु हुन्न उनीहरुले ईलेक्ट्रोनिक माध्यमबाट हुन्छ कि कसरी हुन्छ जुन देशमा छन् त्यही बाट मतदान गर्न पाउनु पर्दछ । त्यस्तै हामीले विदेशमा गएका युवालाई स्वदेशशमा फर्काउनु पर्दछ भन्ने मान्यता साथ “कति बस्छौ युरोप र खाडीमा, भविष्य खोजौं आफ्नै खेतबारीमा” भन्ने नारा अगाडि सारेका छौं । त्यसैले हाम्रो भनाई पूँजि र प्रवृति भित्र्याएर त्यसलाई प्रयोग गरी देशलाई सम्वृद्धिको यात्रामा अगाडि बढाउन पर्दछ भन्ने हो । प्रवास संगठनलाई पैसा उठाउने माध्यम हौईन सम्वृद्धिको साधनको रुपमा प्रयोग गरौं भन्ने हाम्रो भनाई हो ।
प्रतिक्रिया दिनुहोस्