सहकारीको समस्या हल गर्न अध्यादेश आइसक्यो, दोषीलाई सरकारले उन्मुक्ति दिँदैन: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन्

बिहिबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने बताए। उनले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताए।

उनले भने, ‘दोषीहरुलाई कारवाही गर्ने गरि र पीडितहरुको बचत फिर्ता पनि गर्ने गरि सरकारले सिस्टम बनाएर काम गरिररहेको छ। यो सरकारले यस अघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरुमा सुधार गर्न काम अघि बढाइरहेको छ ।’कानून भन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको बताए।

सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने गरि सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।

सञ्चारकर्मीहरुले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा राखेको प्रश्नमा उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासन अनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गरे।

रास्वपाकै सदस्य सहभागि संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानविन अघि बढिरहेको पनि बताए।

११,पुष.२०८१,बिहीबार १३:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्