शिक्षक सरुवाको विषय लिएर गरुडा नगरपालिकामा तोडफोड, दर्जन बढी गाडीमा क्षति

रौतहट । शिक्षक सरुवाको विषय लिएर विद्यार्थीहरूले रौतहटको गरुडा नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले नगरपालिका भवनमा तोडफोड गरेका हुन् । विद्यार्थीहरूले नगरपालिका अगाडी राखिएको मेयर चढ्ने गाडीसँगै १ दर्जन बढी गाडीमा क्षति पुगेको छ ।

नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षक शिवशंकर झालाई मावि झाँझपुलमा सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै बिहीबार नगरपालिका अगाडि विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनको क्रममा नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू उग्र भएर ढुंगामुढा प्रहार सुरु गरेका थिए। ढुंगामुढाबाट नगरपालिका भवनको अधिकांश झ्यालको सिसा फुटेका छन् भने दुईवटा गाडी र दर्जनौँ मोटरसाइकलमा क्षति पुगेको छ।

कार्यालय अगाडि पार्किंग गरिराखेको मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने ना १ झ १६७३ नम्बरको सरकारी गाडी र एकजना सेवाग्राहीको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा क्षति पुगेको छ। सरकारी गाडीको सबै सिसा फुटेको छ भने गाडीको अन्य भागमा समेत क्षति पुगेको छ।

त्यस्तै नगरपालिकामा काम गराउन आएका सेवाग्राहीहरूको १ दर्जन बढी मोटरसाइकलमा विद्यार्थीहरूले तोडफोड गरी व्यापक क्षति पुर्‍याएका छन्।

ढुङ्गा प्रहारबाट नगर प्रहरी हवलदार रामनारायण साह घाइते भएको र हाल उनको वीरगन्जमा उपचार भइरहेको जनाइएको छ। ढुंगामुढाबाट कार्यालय र सवारी साधन गरी १० लाख भन्दा बढीको क्षति भएको गरुडाका मेयर कन्थमणि प्रसाद जयसवालले बताए।

नमुना मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल र सरुवा भएका शिक्षक शिवशंकर झाले विद्यार्थीलाई उचालेर यत्रो ठुलो क्षति गराएको मेयर जयसवालले आरोप लगाएका छन् । तर प्रधानाध्यापक पटेल र शिक्षक झाले आरोप निराधार भएको भन्दै खण्डन गरेका छन्।

शिक्षक सरुवाकै विषयलाई लिएर यस अघि रौतहटको देवाही गोनाही, कटहरिया नगरपालिकामा पनि विद्यार्थीहरूले तोडफोड गरेका थिए।

१२,पुष.२०८१,शुक्रबार १०:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्