काठमाडौ । काठमाडौ नेकपा (एमाले) बाट निष्कासित भएका भीम रावलले नयाँ पार्टी घोषणाको तयारी गरेका छन्।
त्यसका जानकारी दिन रावलले आगामी बुधबार पत्रकार सम्मेलन गर्न लागेको उनीनिकट एकिन्द्र कुँवरले जानकारी दिए।
‘पुस १७ गते पार्टी नै घोषणा त हुँदैन। उहाँले आफ्ना नीति, विचार र राष्ट्रिय राजनीतिबारे धारणा सार्वजनिक गर्नुहुनेछ,’ उनले भने।
पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको भण्डाफोर गर्ने र आफ्नो विचार मिल्नेहरूसँग अन्तरक्रिया गर्ने र त्यसपछि पार्टी घोषणा गर्ने तयारी रहेको कुँवरले जानकारी दिए।
पुस १७ गते कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेर आफ्ना दृष्टिकोण सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।
गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका रावल नयाँ पार्टी गठनको छलफलमा छन्।
उनले सोमबार मात्रै नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग पनि छलफल गरेका थिए।
तारा जोशीले पनि रावल नयाँ पार्टी खोल्ने तयारीमा रहेको बताए।
‘उहाँ नयाँ पार्टी खोल्ने मुडमा हुनुहुन्छ। उहाँसँग राष्ट्रिय राजनीतिमा उहाँका दृष्टिकोण सुन्न म छलफलमा गएको थिएँ। म उहाँले खोल्ने नयाँ पार्टीमा जाने, नजाने विषयमा छलफल प्रवेश गरेको छैन,’ उनले भने, ‘उहाँले पार्टी गठनभन्दा अगाडि देशव्यापी अन्तरक्रिया गर्ने पनि बताउनुभयो।’
प्रतिक्रिया दिनुहोस्