काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

एमबीबीएस पढाउने मधेश प्रदेश सरकारको सपना साकार हुँदै, पुस २५ बाट कक्षा सञ्चालन

3.21K
shares
khanepani bord

जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गत जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी पुस २५ बाट चिकित्साशास्त्रतर्फ स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरु हुने भएको छ ।

प्रतिष्ठानमा एमबीबीएस अध्ययन अध्यापन सुरु गराउन आवश्यक भौतिक पूर्वाधारको स्तरोन्नति, थप उपकरणसहित विशिष्टीकृत ल्याबको व्यवस्थापन भइसकेको छ । त्यस्तै विभिन्न फ्याकल्टीका लागि जनशक्ति व्यवस्थापन भई कक्षा सञ्चालनको अन्तिम तयारीमा जुटेको प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले जानकारी दिए ।

उनका अनुसार चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा पढ्न सिफारिस गरेका विद्यार्थीहरु पनि भर्ना भइसकेका छन् ।

मधेश प्रदेशमा सरकारीस्तरमा एमबीबीएसको पठनपाठन हुने प्रतिष्ठान पहिलो शैक्षिक संस्था भएको छ । उपकुलपति डा. साहले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको रकम भुक्तान गरी एमबीबीएस पढ्न चाहनेहरूका लागि यही पुस २४ गतेसम्म नामाङ्कन हुने जानकारी दिए ।

प्रतिष्ठानमा अहिले स्नातकतर्फ नर्सिङ, पब्लिक हेल्थ र मेडिकल ल्याब टेक्नोलोजी तथा चिकित्साशास्त्रको स्नातकोत्तरतर्फ चार विषयमा पठनपाठन हुँदै आएको छ । चिकित्साशास्त्रमा महँगो र लामो अवधिको पढाइ एमबीबीएस भने यसै शैक्षिकसत्रबाट सुरु हुनेछ ।

प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरको स्तरोन्नति गर्दै एमबीबीएस अध्ययन गराउन स्रोत सुनिश्चित गर्ने निर्णय गरेको थियो । निर्णयपछि यसका लागि गत साउनबाट भौतिक पूर्वाधार, उपकरण, अस्पतालको सेवा विस्तार तथा गुणस्तर वृद्धि, जनशक्ति व्यवस्थापन कार्ययोजनालगायतका कार्य कार्यान्वयन गरिएको थियो ।

त्यसलगत्तै एमबीबीएस कक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको थियो । चिकित्सा शिक्षा आयोगले भने गत भदौमा ५० विद्यार्थीको कोटा दिँदै एमबीबीएस कक्षा सञ्चालन गर्न प्रतिष्ठानलाई स्वीकृति दिएको थियो ।

प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारका कार्यकारी प्रमुखका रूपमा कार्यभार सम्हालिरहँदा जनमत पार्टीको शिक्षा सम्बद्ध दृष्टिका आधारमा मधेशमा सरकारी तवरमा एमबीबीएसको पठनपाठन सुरु गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा. साहले एमबीबीएस पठनपाठनका लागि प्रादेशिक अस्पताल जनकपुर परिसरमै कक्षा कोठा, छात्रावास आदिको व्यवस्था गरिएको बताए । उनले क्लिनिकल अध्ययनका लागि पहिलेदेखिकै पूर्वाधारको स्तरोन्नति गरिएको र आधारभूत चिकित्सा विज्ञानअन्तर्गत एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, प्याथालोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिनलगायत विषय अध्यापन गराउन जनशक्ति व्यवस्थापन गरिएको बताए ।

जनकपुरधामस्थित प्रतिष्ठानमा एमबीबीएसको पठनपाठन सुरु भएपछि चिकित्सा सेवामा सुधार, चिकित्सकको वृत्ति विकासमा टेवा, चिकित्साशास्त्रको अध्ययन अनुसन्धानमा तीव्रता र जनकपुरधामको शैक्षिक छविमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।

IME
khanepani