तामाकोशी जलविद्युत आयोजनाको जोखिममा परेका दोलखाका स्थानीय आन्दोलित

चरिकोट । तामाकोशी पाँचौं जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । आफ्ना माग बेवास्ता गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

निर्माणाधीन ९९.८ मेगावाटको तामाकोशी पाँचौँ आयोजनासमक्ष स्थानीयले ११ बुँदे माग राखेका थिए । ती माग पूरा गर्न गरिएको ध्यानाकर्षण बेवास्ता गरेको भन्दै स्थानीयले आयोजनाको अडिट टुका सबै काम ठप्प पारेका छन् ।

अडिट टु निर्माण गर्दा विगु गाउँपालिका-२ मौरेका १० घरपरिवार जोखिममा रहेका कारण उनीहरूको व्यवस्थापन आयोजनाले गर्नुपर्ने स्थानीयको माग छ । मौरेका स्थानीय समेत रहेका संघर्ष समितिका सहसंयोजक अमृतकुमार आचार्यले आयोजनाको अडिट टुबाट आफ्नो बस्ती जोखिममा रहेपनि बेवास्ता गरिएका कारण आन्दोलनमा उत्रिनुपरेको बताए ।

बस्ती ५० मिटरभित्रै पर्दा पनि आयोजनाले माग सम्बोधनमा बेवास्ता गरेकोले आन्दोलनमा उत्रिनु पारेको संघर्ष समितिले जनाएको छ ।

समितिले टनेलबाट गौरीशंकर गाउँपालिका- ८, खारेको मन्थली, तातोपानी, टाकापु र लाकुरसिंहका गरी झन्डै सय घरपरिवार समेत आंशिक जोखिममा पर्ने भन्दै तत्काल समाधानको उचित विकल्प दिन माग गरेको छ । माग पूरा नभई काम अघि बढ्न नदिने संघर्ष समितिको चेतावनी छ ।

संघर्ष समितिको तर्फबाट जारी गरिएको विज्ञप्तिमा आयोजनासँग पटक-पटक आग्रह गर्न पनि बेवास्ता गरेकाले माग पूरा नहुन्जेल अडिट टुका सम्पूर्ण काम सुचारु गर्न नदिने उल्लेख छ ।

तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको प्रवर्द्धन कम्पनी तामाकोशी जलविद्युत कम्पनी लिमिटेडले स्थानीयका जायज माग पूरा गर्न आयोजना तयार रहेको जनाएको छ ।

१७,पुष.२०८१,बुधबार १२:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्