सिन्धु विकास बैंकमा बचतकर्ताका करोडौ घोटाला प्रकरण

बाह्रविसे (सिन्धुपाल्चोक) । किसान र साना उद्योग तथा व्यवसायीलाई सहयोग गर्ने उदेश्य लिएर स्थापना गरिएको सिन्धु विकास बैंकमा पछिल्लो समयमा बचतकर्ताहरुको करोडौ बचत रकम हिनामिना गर्दै आफुखुशी खर्च गर्दै आएको आरोप सो बैंक सञ्चालकमाथी लागेको छ ।  भने सो बैंकका तत्कालिन अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठकै संलग्नतामा करोडौ रुपैयाँ अपचलन गरेको समेत बताइएको छ । ढिलागरि प्राप्त विवरण अनुसार सिन्धु विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत पाटनमा परेको मुद्दाको फैसलाबाट समेत प्रमाणित भएको छ ।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासले २०८० साउन ८ गते गरेको फैसलाबाटै सो अबैधधन्दा हुने गरेको समेत खुलेको छ । उच्च अदालतका न्यायाधीशद्वय किरणकुमार पोखरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले गरेका फैसला अनुसार तत्कालीन समयमा झण्डै दुई करोड १९ लाख ३५ हजार आठ सय २१ रूपैयाँ ५० पैसा अपचलन भएको जनाइएको छ । सो बैंकका तत्कालीन कम्पनीसचिव तथा प्रवक्ता समेत रहेका रविनकुमार क्षेत्रको जाहेरीले नेपाल सरकार वादी रहेको सो मुद्दामा प्रतिवादीहरू रुक्सा श्रेष्ठ, एलिसा बस्नेत, अप्सना श्रेष्ठ, दिपक श्रेष्ठ, राजप्रकाश श्रेष्ठ, बासु श्रेष्ठ, पदमबहादुर प्रधान, निकिता श्रेष्ठ, विकेश श्रेष्ठ र संगम बस्नेतलाई प्रतिवादी बनाइएको थियो ।

तत्कालीन समयमा दुई करोड १९ लाख ३५ हजार ८ सय २१ रूपैयाँ ५० पैसा अपचलन भएको उक्त मुद्दामा उच्च अदालतले रुक्सा श्रेष्ठको हकमा फौजदारी कार्यविधि संहिता २०७४ बमोजिमको कारबाही अन्तर्गत १४ लाख रूपैयाँ नगद धरौटी वा सो बराबरको जायजेथा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्षको फैसला भएको थियो । यसैगरी, एलिसा बस्नेत श्रेष्ठको हकमा फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम नै ९ लाख रूपैयाँ नगद धरौटी वा सो बराबरको जेथा जमानताको आदेश समेत भएको थियो ।

यसैगरी अप्सना श्रेष्ठको हकमा मुलुकी फौजदारी कार्यविधि संहित २०७४ बमोजिम नै एक लाख रूपैयाँ नगद धरौटी वा सो बराबरको जेथा बैंक जमानतको आदेश भएको थियो । उच्च अदालत पाटनले अर्का प्रतिवादीहरू दिपक श्रेष्ठ र राजप्रकाश श्रेष्ठको हकमा पनि मुुलुकी फौजदारी कार्यविधिसहित २०७४ अनुसार दुवै प्रतिवादीहरूबाट जनही ५०÷५० हजार रूपैयाँ धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टीको आदेश भएको थियो ।

अदालतको आदेशमा भनिएको छ, ‘सबैको हकमा जमानत दिन नसके कानुनबमोजिम सिधा खान पाउने गरी सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई सम्बन्धित कारागारमा थुनामा राख्न पठाइदिनुहोला ।’ निक्षेपकर्ताहरूको बचत अपचलन सम्बन्धी उक्त मुद्दामा प्रतिवादी रुक्सा श्रेष्ठले भने उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश नरिश्वर भण्डारीको संयुक्त वाणिज्य इजलासमा गरेको बयानमा भने आफूले रकम चलाएको जानकारी पहिला नै उक्त बैंकका तत्कालिन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई दिएको समेत बताएकी थिइन् ।

अदालतसमक्ष श्रेष्ठले बयानमा भनेकी थिइन्, ‘उक्त जाहेरी दरखास्तको व्यहोरा पढीवाची सुनाउँदा सुनी पाएँ । सोमा भएको व्यहोरा आंशिक मात्र सत्य हो । मैले ग्राहकले जम्मा गरेको रकममध्येबाट ८०÷८५ लाख रूपैयाँ आफ्नो निजी कार्यको लागि प्रयोग गरेको थिए । तर, विभिन्न मितिमा सोही बैंकमा रहेको निजी खाताबाट मैले लगभग एक करोड रूपैयाँभन्दा बढी रकम बुझाइसकेको छु ।’ ‘बैंकले उक्त रकम बुझाउनुभयो भने तपाईँविरुद्ध कुनै मुद्दा दायर गर्ने छैनौँ भनी भनेको हुँदा मैले आफूले चलाएको रकम सबै भुक्तानी गरी सोभन्दा बढी रकम बुझाइसकेकोमा बैंकले मलाई र मेरो परिवारका सदस्यहरूलाई बोलाई अन्य ग्राहकको पैसा पनि प्राप्त गर्न बाँकी छ, अझै पैसा तिर्नुपर्छ भनी करकाप लगाइरहेको अवस्था थियो ।

सो बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई मैले त्यसरी बैंकका ग्राहकहरूको पैसा चलाइरहेको कुराको जानकारी थियो र निज समय–समयमा बैंकको निरीक्षणको लागि पनि आउने गर्थे । निज राजेन्द्रकुमार श्रेष्ठ प्रतिवादी राजप्रकाश श्रेष्ठ (प्रतिवादी अप्सना श्रेष्ठको श्रीमानको आफ्नै भिनाजु हुन् । म सुत्केरी बिदामा बसेको बेलामा समेत ग्राहकहरूको पैसा हिनामिना भएको भन्ने कुरा मलाई पछि थाहा भयो । एलिसा बस्नेत श्रेष्ठले आफ्नो दाजुको सोही बैंकमा रहेको ‘लोन’ चुक्ता गर्न ग्राहकहरूको पैसा चलाएको र अर्को प्रतिवादी अप्सना श्रेष्ठले समेत त्यसरी रकम हिनामिना गर्दै आइरहेको रहेछ ।

मैले खालि ‘विथ ड्र स्लिप’ मा सहीछाप गरी बैंकमा राखेकोमा सोहीमार्फत मेरो खाताबाट रकम निकाली निज अप्सना श्रेष्ठले आफूले गरेको अपचलनको भुक्तानी गरेको कुरा मैले एलिसा बस्नेत श्रेष्ठ र ग्राहकहरूले भनेपछि थाहा जानकारी पाएको हुँ । प्रतिवादीहरू समेतले बीचबीचमा ग्राहकहरूको पैसा चलाइरहेको हुँदा निजहरूबाट समेत पैसा भराउनुपर्ने हो । मैले सबै रकम तिरिसकेको हुँदा मैले कुनै पनि रकम तिर्नु÷बुझाउनु पर्ने होइन ।

प्रतिवादी पदमबहादुर प्रधान र तेस्रो पक्षबीचको कारोबारमा म ‘ग्यारेन्टर’को रूपमा रहेको थिएँ । पदमबहादुरले आफ्नो खाताबाट सो तेस्रो पक्षलाई रकम तिर्न नसकेको खण्डमा मैले बैंकको पैसा सो व्यक्तिलाई दिएको हुँ । तसर्थ निजको लागि मैले बैंकबाट चलाएको पैसा म स्वयम्ले तिरिसकेको हुँदा निज पदमबहादुर प्रधानले मलाई रकम तिर्नुपर्ने हो । अन्य प्रतिवादीहरूको यस कसुरमा कुनै संलग्नता छैन । मैले बुझाएको रकमको स्टेटमेन्ट उक्त बैंकबाट झिकाई प्रमाणको रूपमा लगाई पाऊँ’, श्रेष्ठले बयानमा भनेकी थिइन् ।

क्षेत्रीय स्तरको सिन्धु विकास बैंकमा एउटै व्यक्ति लामो समयदेखि बैंकको सञ्चालक समितिको अध्यक्ष रहेको, कर्जा प्रवाहमा हालीमुहाली गर्दै अनावश्यक हस्तक्षेप गरेको, बैंकभित्र संस्थागत सुशासनको पक्ष पनि कमजोर रहेकाले ऋण असुलीमा निकै ठूलो समस्या रहेको देखिएको छ । बैंकमा संस्थागत सुशासनको पक्ष कमजोर रहेको घटनाको एउटा उदाहरण झण्डै एक वर्षअघि बैंकको दोलालघाट शाखा प्रमुख सुमन खरेललाई पक्राउ गरेपछि उक्त शाखामा ग्राहकको रकम हिनामिना घटनाले पुष्टि गरेको थियो ।

यसरी बैंककै कर्मचारीलाई प्रयोग गरि रकम हिनामिना गर्दै आएको र त्यसको विरोध बैंक व्यवस्थापनभित्र समेत हुन थालेपछि पछिल्लो समयमा राजेन्द्रकुमार श्रेष्ठले अध्यक्षबाट हटाइएको छ । राजेन्द्र कुमार श्रेष्ठ बैंकको अध्यक्ष तथा संचालक पदमा वहाल नरहेपछि निभा डंगोल श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिएको भएपनि सो १३ दिन समेत टिक्न पाए । जसका कारण अहिले बैकको हालिमुहालीबाट बञ्चित हुन पुगेका श्रेष्ठ विभिन्न हतकण्डा अपनाउन समेत थालेको आरोप बैंक कर्मचारीले बताएका छन् ।

के कस्तो हतकण्डा अपनाउन थालेका छन भन्ने प्रश्नमा भने बैंक कर्मचारीहरुले केही बताउन चाहेनन । नाम नलेख्ने सर्तमा बैकका एक कर्मचारीले भने,‘यहाँहरुले हेर्दै जानुहोला त्यो हतकण्डा आफैले थाहा पाउनु हुने छ, अहिले यसबारे केही नभनौ होला । यस सम्बन्धमा तत्कालिन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको फोनमा पटकपटक फोन सम्र्पक गर्दा समेत उनले फोन रिसिभ गरेनन ।

१८,पुष.२०८१,बिहीबार १६:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्