दोस्रो कार्यकाल अघि ट्रम्पलाई प्रधानन्यायाधीशको गम्भीर चेतावनी
वि.सं.२०८१ पुस १९ शुक्रवार १०:३३
shares

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसको दोस्रो कार्यकालअघि गम्भीर चेतावनी दिएका छन्।
संघीय न्यायपालिकाको गत मंगलबार सार्वजनिक वार्षिक प्रतिवेदनमा प्रधानन्यायाधीशले संयुक्त राज्य अमेरिकाले ‘न्यायिक स्वतन्त्रता’ कायम राख्नुपर्छ भन्दै संघीय न्याय प्रणालीमाथिको खतराबारे उल्लेख गरेका छन्।
‘न्यायिक कार्यको प्रकृतिमा सबैलाई खुसी बनाउने कुरा हुँदैन। अधिकांश मुद्दाहरूमा विजेता र पराजित हुन्छन्,’ रोबर्ट्सले १५ पृष्ठ लामो प्रतिवेदन लेखेका छन् ।
‘विधायिकी अधिकार वा अन्य महत्वपूर्ण विषयहरूमा हरेक प्रशासनले कहिलेकाहीँ अदालत प्रणालीसँग पराजय भोगेको हुन्छ’ उनले भनेका छन्, ‘तर, विगत केही दशकहरूदेखि, अदालतको निर्णय, लोकप्रिय होस् वा नहोस्, पालना गरिएको छ, र राष्ट्रले सन् १९५० र १९६० का दशकहरूमा देखिएका गतिरोधहरूबाट बच्न सफल भएको छ ।’
उनले ट्रम्पतर्फ संकेत गर्दै लेखेका छन्, ‘तर, पछिल्लो केही वर्षहरूमा, राजनीतिक दृष्टिकोणका विभिन्न तर्फका निर्वाचित अधिकारीहरूले संघीय अदालतका निर्णयहरूको खुलेआम अवज्ञाको खतरा उठाएका छन्।’
रोबर्ट्सले आफ्नो प्रतिवेदनमा ट्रम्प, राष्ट्रपति जो बाइडेन वा अन्य कुनै पनि सांसदको नाम उल्लेख गरेका छैनन्, यद्यपि दुवै कार्यकारीहरूसँग सार्वजनिक विवाद भएका छन्।
‘कहिलेकाँही मात्रै आउने भए पनि यी खतरनाक सुझावहरू दृढ रूपमा अस्वीकार गर्नुपर्छ। न्यायिक स्वतन्त्रता जोगाउनै पर्ने विषय हो,’ रोबर्ट्सले तर्क गरेका छन्।

























