स्थानीय तहमा पुगेका बैंकले गरेका काम चित्तबुझ्दो छैन : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उद्योगमन्त्री भण्डारीले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पहुँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्रै रमाउन नहुने बताए । उनले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरे । उनले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गरे ।

उद्योगेमन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताए । उनले स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गरे । उनले सरकारको निर्देशन अनुरुप स्थानीय तहमा बैंकहरु पुगेपनि आयोजनाको बजेट भुक्तानी, सामाजिक सुरक्षा भत्ता, शिक्षक, स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलब भत्ता बाँडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै आएको बताए । उनले स्थानीय तहमा पुगेका बैंकहरुले पनि जल, जङ्गल, जमिन, खानी, उद्योगका सम्भावनालाई खोज्न जरुरी रहेको बताए ।

मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धि प्रमुख राजनीतिक दलहरूको रहेको उल्लेख गरे । उनले सरकारसँग निजी क्षेत्र, बैंकर्स र उद्योगी व्यवसायीहरूले खोजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताए । उनले विगतमा बनाएका विद्यमान नीतिहरू अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महसुस गरिरहेको उल्लेख गरे । उनले मुलुकभित्र लगानी र कर्जा प्रवाह किन एक जनाले कर्जा तिर्दिन भन्यो भनेर डराएर बस्न नहुने बताए ।

१९,पुष.२०८१,शुक्रबार १६:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्