काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

खुला विश्वविद्यालयमा दुई जना प्रोफेसर नियुक्त गरेको विषयमा कारण देखाऊ आदेश जारी

4.19K
shares
khanepani bord

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले नियुक्त गरेका दुई जना प्रोफेसरहरूका विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । कार्यकारी परिषद्बाट कुनै निर्णय नगरी उपकुलपति प्राडा शिलु मानन्धर बज्राचार्यले नियुक्त गरेका दुई जना प्रोफेसरहरूका विषयमा कारण देखाऊ आदेश जारी भएको हो ।

आफूखुसी दुई जना प्रोफेसर नियुक्त गरेको भन्दै उपप्राध्यापक डा. भोजराज घिमिरेले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै कारण देखाऊ आदेश गरिएको हो । अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई माघ ४ गते विश्वविद्यालयको कार्यकारी परिषद्का सबै सदस्यहरूलाई छलफलका लागि बोलाइएको छ ।

पुस १ गते उपकुलपति बज्राचार्यले डा. रामकुमार फुयाँल र डा. दिनेश भुजुलाई विज्ञ प्राध्यापकमा नियुक्त गरेकी थिइन् । उपकुलपतिको उक्त कदमको विश्वविद्यालयका शिक्षक कर्मचारीले विरोध गर्दै आएका थिए । ऐन, नियम र कार्यविधिको पालना नगरी बिना प्रक्रिया नियुक्ति गरिएको विश्वविद्यालयको शिक्षक–कर्मचारी संघर्ष समितिको आरोप छ । यसैबिच घिमिरेले सर्वोच्चमा उनीहरूको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

नियुक्त भएका दुवै जना प्राध्यापक विश्वविद्यालयमा आएर कामकाज गर्दै आएका छन् । रजिस्ट्रारको कार्यालयमा हाजिरी गर्दै दुवै जनाले काम गर्दै आएका हुन् । उनीहरूले पढाउने भन्दा पनि नीतिगत कामहरू गर्दै आएको विश्वविद्यालयले जनाएको छ ।

डा. फुयाँल राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् । त्यस्तै डा. भुजु नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका पूर्व प्राज्ञ तथा हाल मध्य–पश्चिम विश्वविद्यालयमा मानार्थ प्राध्यापक हुन् ।

विश्वविद्यालयको ऐनमा शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था गरेको छ । ऐनको दफा २७ को ३ मा विज्ञलाई करारमा नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ । विश्वविद्यालयको कुनै काम गर्न विश्वविद्यालयका शिक्षक तथा कर्मचारीबाट सम्भव नभएमा उपकुलपतिले त्यसको कारण खुलाइ कुनै विज्ञलाई करारमा नियुक्त गरी विश्वविद्यालयको काममा लगाउन सकिने प्रावधान छ । सोही प्रावधानलाई टेकेर विज्ञ नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

IME
khanepani