
मेलम्ची (सिन्धुपाल्चोक) । देशभर सरकारी बजेटमाथी विभिन्न योजना र आयोजनाको नाममा कमिशन खादै कागजी प्रकृया पुरा गरेर दोहन गर्दै आएको महालेखा परिक्षकको कार्यालयले प्रत्येक वर्ष उल्लेख गर्दै आएपनि सरकारले कारबाही नगर्दा अनियमितातको चाङ लाग्ने क्रममा झन तीब्रता आएको छ । एकातर्फ उपभोक्ता समितिको नाममा करोडौ रुपैयाँ अनियमितात हुदै आएको स्थानीय तहका जनप्रतिनिधिबाट पछिल्लो समयमा खेलकुद, मेला महोत्सब र उत्सवको नाममा करोडौ रुपैयाँ मनलाग्दो तबरबाट निकासा गरेर खर्च गरिदै आएको पाईएको छ । स्थानीय निकायमा जाने विकास खर्चलाई विभिन्न शिर्षक उपशिर्षक बनाएर नक्कली कागजात तयार गरि करोडौ रुपैयाँ अनियमितता गर्नेमा मेयर र अध्यक्ष अग्रपंक्तिमा आउने गरेको पाईएको छ ।
यसैक्रममा गएको महिनामा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले विश्वको टाउको दुखाई बनेको जलवायु परिवर्तनको नाममा ठुलै तामझाम गरेर जलवायु परिवर्तन सम्मेलन २०८१ नाम दिएर करोडौ रुपैयाँ खर्च गरेको थियो । तर सो खर्च गरे अनुसार सम्मेलनको भोलीपल्टबाटै चर्चा परिचार्चा समेत स्थानीय बासिन्दाले गरेनन । तर मेलम्ची नगरपालिकाले करोडौ रुपैयाँ खर्च गरेर आयोजना गरेको सो सम्मेलनबाट भने केही उपलव्ध नहुने पक्किापक्कि भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
सम्मेलनको नाममा जनप्रतिनिधिबाट कसरी हुन्छ सरकारी बजेटको दोहन भन्ने बलियो प्रमाण गुफाडाँडा सम्मेलन समेत भएको बताएका छन् । आर्थिक नियमावली विपरित हजारौ रुपैयाँ आफुखुशी केही पत्रकार र केही जनप्रतिनिधिकै आफन्त र चिनजानबाट सञ्चालन गरिएको अनलाईनमा आफुअनुकुलको समाचार प्रकाशन प्रशारण गर्न लगाएर केही दिन चर्चा बटुलिएको मेलम्ची नगरपालिकाले सो सम्मेलनको नाममा गरिएको खर्च भने अहिलेसम्म गोप्य राखेको छ ।
मेलम्ची नगरपालिकामा के कति खर्च कहाँ कसरी भयो भनी जानकारी लिदा सो नगरपालिकाका एक कर्मचारीले नाम गोप्य राख्ने सर्तमा भने,‘खर्च त कि मेयर सावलाई थाहा होला, कि लेखा प्रमुखलाई थाहा होला, कहाँ कति के कसरी खर्च भयो भन्ने बारे कर्मचारीलाई खासै थाहा हुदैन, कोर टिमबाट कागजात तयार हुन्छ त्यसलाई कार्यपालिकाको बैठकबाट जबरजस्ती पास गरेर अनियमितता हुदै आएको छ, खर्चका बारेमा हामीहरुलाई नसोध्दै राम्रो हुन्छ ।’
‘गुफाडाडा जलवायु सम्मेलन’ को नाममा मेलम्ची नगरपालिकाको मनलाग्दो खर्च
यसबाटै के प्रष्ट हुन्छ भने जनप्रतिनिधिबाट मेलामहोत्सवको नाममा मात्र हैन गरिव जनताको नाममा समेत लाखौ रुपैयाँ निकासा गरेर खादै आएको ती कर्मचारीले भनाईबाट खुलस्त भएको छ । कामभन्दा बढी हल्ला गरेर सम्मेलन गरेको मेलम्ची नगरपालिकाले राष्ट्रिय झण्डा खरिदमा समेत लाखौ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । गुफाडाँडामा जलवायु परिवर्तन सम्मेलन २०८१ कोे आयोजना गर्दा ७७ जिल्लाको नाममा राष्ट्रिय झण्डा राख्ने भन्दै खरिद गर्दा समेत ठूलो कमिशन लिएको आरोप कर्मचारीले नै लगाएका छन् ।
यसरी राष्ट्रिय झण्डामै कमिशन खाएर खरिद गर्ने नगरपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामालाई साँक्षी राखेर बजेटको दोहन समेत गरेको आरोप लागेको छ । सो बजेटको दोहनको अर्का साँक्षी थिए पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य शेरबहादुर तामाङ । अरुबेला पानी बाराबारको अबस्था रहेको मेयर आईतमान तामाङ र शेरबहादुर तामाङ कमिशनको मामलामा भने एकै स्थानमा सहमती जनाउन गुफाडाँडामा अथितिको रुपमा पुगेका थिए ।
र यस्तो कार्यक्रमको निरन्तर गर्न जरुरी रहेकोमा नगरपालिकाले अपनत्व लिएकोमा धन्यवाद समेत दिन भुलेनन । सो सम्मेलनमा जलवायु विज्ञ, अनुसन्धानकर्ता, वातावरणविद्, तथा सरकारी र गैरसरकारी सङ्घ–संस्थाका प्रतिनिधि र पत्रकारको नाममा समेत लाखौ रुपैयाँ खर्च गरेपनि त्यसको उपलव्ध भने शुन्य रहेको छ । सो डाँडोमा भएको यस्तो सम्मेलन पहिलो हैन यो पाँचौ सम्मेलन हो । तर पाँचाँै सम्मेलन गरिसक्दा समेत कार्यक्रम आयोजक जिल्ला समुन्वय समितिदेखि मेलम्ची नगरपालिकाले गरेको खर्च विवरण भने अहिलेसम्म सार्वजनिक गर्ने आँट गरेको छैन ।
कारण अनुत्पादक क्षेत्रमा गरिएको करोडौ रुपैयाँको उपलव्धी देखाउन नसकिने भएपछि खर्च विवरण समेत गोप्य राखिदै आएको छ । २०७५ सालमा जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा सोही डाँडामा जलवायु सम्मेलन गरिएको थियो । त्यस समयमा राष्ट्रपति विद्यादेबी भण्डारीलाई साक्षी राखेर तत्कालिन जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको योजनामा करोडभन्दामाथीको खर्च गरेका थिए । तर त्यस समयमा गरेको खर्च समेत अहिलेसम्म सार्वजनिक गरिएको छैन । सोही समयदेखि जलवायुको नाममा प्रत्येक वर्ष करोडौ रुपैयाँ सो डाँडो देखाएर गरिदै आउने प्रकृयाले निरन्तरता पाएको छ ।
जसको निरन्तरता बर्तमान मेयर आइतमान तामाङले समेत गरेका छन् । निरन्तरता स्वरूप जलवायु दिवस मनाउदै आएको समितिले पछिल्लो समयमा मनाएन भने त्यसको निरन्तरता मेलम्ची नगरपालिकाले गरेको थियो । भने जलवायु सम्मेलनको नाममा गरिएको आर्थिक हिसाब भने तत्कालिन समितिका प्रमुख तामाङले सार्वजनिक गरेका छैनन भने त्यसको निरन्तरता मेयर तामाङले समेत गर्ने छाँटकाँट देखाएका छैनन ।
जलवायु र गुफाडाँडाको नाम भजाउँदै आएको जिसस सिन्धुपाल्चोक र मेलम्ची नगरपालिकाले गरेको खर्च विवरण अपारदर्शी हुदाँ समेत सम्बन्धित दल र स्थानीय बासिन्दाहरुले खोजी कार्य समेत गरेको पाईएको छैन । सम्मेलनको नाममा हुने गरेका फजुल खर्चको विवरणबारे माग गर्ने सम्भाबना देखिएपनि पत्रकारलाई समेत विभिन्न नाममा सहयोग पु¥याएको भन्दै सिन्धुका केही पत्रकारलाई सम्मानको नाटक गरेर समेत सो बारे रोक्ने प्रयास मेलम्ची नगरपालिकाले गरेको छ ।
सो सम्मेलनको नाममा विनियोजित बजेट खर्चका बारेमा मेलम्ची नगगरपालिकाको कर्मचारीलाई समेत थाहा नदिई कुन माध्यामबाट खर्च भयो भन्ने बारेमा समेत अहिले चौतर्फ बहस सुरु भएको छ । भने सो बहसमा केही दलका स्थानीय नेताहरुले समर्थन गरेपनि खुला रुपमा मेलम्ची नगरपालिकासंग खर्च विवरण माग्ने आँट भने एमाले, माओबादी राप्रपालगायत दलका नेताले गर्न सकेका छैनन् । जसका कारण सभासम्मेलनको नाममा ठूलो रकम हिनामिना हुदै आएको छ ।
मेलम्ची नगरपालिकाका मेयर तामाङसंग कोही कसैले आर्थिक पारदर्शीताका कुरा, कार्यक्रमका उपादेयताका कुरा गरेको खण्डमा विभिन्न आरोपप्रत्यारोप लगाएर धम्कीपूर्ण भाषा समेत प्रयोग गरी हतोत्साहीत समेत बनाउने प्रयास समेत गर्ने गरेको आरोप लागेको छ । अनावश्यक कार्यक्रम हटाउनु पर्ने अनुत्पादनक क्षेत्रमा बजेट छुट्टयाउन नहुने र आयमुलक योजनामा बजेट विनियोजन गर्नु पर्ने कोही कसैले प्रस्ताव राखेमा त्यस्तो प्रस्तावमा कुनै वास्तै नगरी प्रमुख तामाङ ज्यादै ज्याद्रो मान्छे भएको कसैको कुरा नसुनी एकलौटी ढङ्गले अगाडि बढ्ने गरेको समेत काँग्रेसका एक नेताले बताएका छन् ।
आर्थिक मामिलामा मेयर तामाङ आफैले निर्णय गर्ने भएकाले पनि क्रसर उद्योग तथा गैरसरकारी संस्थाहरूसँग समेत रकम असुले गर्दै आएको आरोप समेत लाग्दै आएको छ । सरकारी बजेटमा मेयर तामाङले कुनै पनि विवरण सार्वजनिक नगरि जसले जे भने पनि केही फरक पर्दैन भन्दै पारदर्शीताका बारेमा ध्यान नदिएको समेत आरोप लागेको छ ।
जलवायु सम्मेलन बिना एजेन्डा रमाइलोका लागि मात्र हुने गरेको भन्दै कतिपय स्थानीयवासीले गुनासो गर्दै समेत आएका छन् । केही दिन तामझाम हुने तर अरू दिनमा वास्तासमेत नगर्ने प्रवृत्तिका कारण स्थानीयबासिन्दाहरु रुष्ट बनेको बताउछन्े । स्थानीयवासीले समेत जलवायु सम्मेलनको खर्च सार्वजनिक हुनुपर्ने माग गरेपनि मेयर तामाङले उनी विरोधी कुरा गर्नेलाई नगरपालिकाभित्र सहजरुपमा प्रबेश समेत गर्न अबरोध सृजना गर्ने गरेको आरोप उनीमाथी लागेको छ ।
यसबारे पटकपटक मेयर तामाङसंग भेटगर्न मेलम्ची नगरपालिका कार्यकक्ष पुग्दा बाहिर गैरकानुनी रुपमा नियुक्त भएका मेयरका स्वकिय सचिबबाट भेट गर्नबाट अबरोध पु¥याएका कारण उनीमाथी लागेको आरोपका बारेका आधिकारीक भनाई भने लिन सकिएन ।
प्रतिक्रिया दिनुहोस्