चितवनमा रवि संगठितमा परेनन, सहकारीमा मुद्धा दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दायर गरियो । सहकारी रकम हिनामिनासँग जोडेर उनीमाथि गरिएको यो चौंथो अभियोजन हो । यसअघि कास्की, काठमाडौं र रुपन्देहीका अदालतमा मुद्दा विचाराधीन छन् ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिनामिना प्रकरणमा रविलाई आरोपित गरिएको छ । यो सहकारीको विषयमा गत असोजमा नै १७ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दर्ता भइसकेको थियो । अहिले रविसहित १५ जनामाथि पुरक अभियोजन गरिएको हो ।

कुल ३२ जनालाई प्रतिवादी बनाइएको मुद्दामा रविसहित २० जनालाई ठगीको अभियोग लगाइएको छ भने अन्य १२ जनालाई संगठित अपराधको अभियोग पनि थपिएको छ । प्रहरीले रविलाई समेत संगठित अपराधमा हाल्न प्रतिवेदन दिएको थियो ।

तर, सरकारी वकिल कार्यालयले उनलाई ठगीमा मात्रै अभियोजन गर्यो । गोर्खा मिडियाका सञ्चालकहरुमध्ये जीबी राई र छविलाल जोशीलाई संगठित अपराधमा मुद्दा हालिँदा रविप्रति सरकारी वकिल कार्यालयले सदासयता देखाएको हो त ?

लामिछाने गोर्खा मिडियाको बोर्ड सदस्य भए पनि सहकारीमा आवद्ध नरहेको तथा अर्को कुनै कम्पनीमा संलग्न नभएकाले संगठित अपराधको परिभाषाभित्र नपर्ने सरकारी वकिल कार्यालय बताउँछ ।

जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलका अनुसार तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालकको हैसियतमा मात्रै रविविरुद्ध मुद्दा दर्ता भएको हो । उनी साहारा सहकारीको सञ्चालक, ऋणी वा अरु कुनै पनि भूमिकामा नदेखिएको कारण संगठित अपराध अनुसन्धानबाट पुष्टि हुने आधार नभएको उनले प्रष्ट पारे ।

छविलाल जोशी पनि साहारा सहकारीमा आवद्ध थिएनन् । तर, उनी जीबी राईका अन्य कम्पनीमा पनि साझेदार रहेकाले उनलाई संगठितमा हालिएको छ । जिल्ला अदालत चितवनमा आज दर्ता भएको ०८१–C १– ०५७२ नम्बरको मुद्दामा लामिछानेलाई संगठित अपराधको प्रतिवादी नबनाउने कारण खोलिएको छ ।

मुद्दा विवरणको ९९ पेजमा सहकारी र कम्पनीका सदस्य भिन्नाभिन्नै जिम्मेवारीमा रहने तथा दोहोरो जिम्मेवारीमा रहेर संगठित अपराधको कार्यलाई टेवा पुर्याउने काम गरेकालाई संगठित अपराधमा मुद्दा दायर गरिएको उल्लेख छ ।

साहरा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा कुल १० करोड, ८० लाख, १८ हजार, एक सय ५१ रुपैयाँ गएको प्रहरी अनुसन्धानबाट देखिएको छ । लामिछानेले गोर्खा मिडियाका प्रबन्ध निर्देशकको हैसियतमा ८ सय १४ वटा चेक काटेको मुद्दामा उल्लेख छ ।

रविलाई शेयरधनीको हैसियतमा गोर्खा मिडियामा गएको कूल रकममध्ये चार जनाबाट सामूहिक दायित्वमा आउने बिगो असुल गराउने माग अभियोजनमा लगाइएको छ । अन्य तीन जना प्रतिवादीमा गितेन्द्र बाबु राई, छबिलाल जोशी र लक्ष्मीप्रसाद पौडेल रहेका छन् ।

त्यसैगरि साहारा सहकारीबाट रकम गएका अन्य कम्पनीहरुमा नेचर हब्र्स इन्टरनेसनल प्रालिमा ६ जनाको सामूहिक दायित्व निर्धारण गरिएको छ । उक्त कम्पनीमा ९ करोड ७३ लाख ८१ हजार, ८ सय ९७ रुपैयाँ ४ पैसा गएको पाइएको छ । नेचर हर्बसका सञ्चालकमा जीबी राई, छबिलाल जोशी, कुमार रम्तेल, रामबहादुर खनाल, कविता तामाङ र अनन्तबाबु राई प्रतिवादी छन् ।

अभियोजन अनुसार जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८ सय ५४ रुपैयाँ ७४ पैसा गएको छ । भने ८ जना व्यक्ति जीबी राई, कुमार रम्तेल, हेमन्त अधिकारी, सागर केसी, नविन अछामी, रविना रिमाल र असरफ अलि सिद्धिकी समेत प्रतिवादी छन् ।

स्प्रीङउड रिअल स्टेट तथा हाउजिङ प्रालिमा ६ करोड ८१ लाख ८८ हजार ७ सय ३ रुपैयाँ ८ पैसा गएको छ । उक्त संस्थाका पाँच जना सञ्चालक छन् । जसमा जीबी राई, भुपेन्द्र राई, देबेन्द्रबाबु राई, अनन्तबाबु राई र भगवती बम्जनको सामुहिक दायित्वबाट असुल गर्न माग गरिएको छ ।

नेचर नेष्ट कम्पनी प्रालि पनि साहरा सहकारीको रकम गएको अर्को संस्था हो । उक्त संस्थामा ६ करोड ५१ लख १० हजार तीन सय २२ रुपैयाँ ८३ पैसा रकम गएकोमा सञ्चालक ७ जनाबाट बिगो भराउन माग गरिएको छ । जसमा जिबी राई, दिपक लामा र गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालकहरु जीबी राई, कुमार रम्तेल, अनन्तबाबु राई, देबेन्द्रबाबु राई र नेत्रपाणी बास्तोला गरी सात जनाको दायित्व रहेको उल्लेख छ ।

साहारा सहकारीबाट रकम गएको छैठौँ संस्था गोरखा ग्रुप अफ मल्टी इन्भेष्टमेन्ट प्रालि हो । उक्त संस्थामा १७ लाख ५८ हजार रुपियाँ गएको उल्लेख छ, जसका सञ्चालकहरु जीबी राई, भुपेन्द्र राई, दिपक लामा, देबेन्द्रबाबु राई र विज्ञान राई प्रतिवादी छन् ।

मुद्दामा सामुहिक दायित्व बाहेक गितेन्द्रबाबु (जीबी) राईबाट ४१ लख ३० हजार रुपैयाँ, असरफ अलि सिद्धिकीबाट ३ करोड २० लाख रुपैयाँ र भोटे भन्ने शिवबहादुर गुरुङबाट २ करोड ६४ लाख रुपैयाँ साहरा सहकारीलाई फिर्ता गराई मागिएको छ ।

यसरी संस्थागत रुपमा बाहेक व्यक्तिगत रुपमा मूल जाहेरीबाट ४४६ जना पीडितको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ १८ पैसा र पुरक जाहेरी दिने १० जनाको बचत रकमको बिगो ४३ लाख ९४ हजार ६ सय ३१ रुपैयाँ एक पैसा बचत हीनामीना भएको उल्लेख छ ।

२२,माघ.२०८१,मंगलवार २०:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्