
काठमाडौं । नेपाली कांग्रेसको ७७ जिल्ला पार्टी सभापति र प्रशिक्षण शाखा प्रमुखको भेला पोखरामा जारी छ । भेलामा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का महामन्त्री गगन थापासहित शीर्ष नेताहरुको सहभागी छन् ।
भेलामा पार्टीका इतर पक्षका नेता शेखर कोइराललाई बोलाइएको छैन । उनीमात्रै होइन, पूर्वपदाधिकारीहरु कसैलाई नबोलाएको कांग्रेसको भनाइ छ ।
तर गएको महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालालाई नबोलाइकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ । पार्टीको सात प्रदेश सभापति, उपसभापति र जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुँदै पनि उदेकलाग्दो देखिएको शेखर निकट नेता गुरुराज घिमिरेले बताए ।
उनले भने, ‘यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोसिस गरेको छ । यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियो । यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरे पनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ ।’
नेता घिमिरेले पार्टी भनेको पद ओगटेका दुईचार व्यक्तिमात्र नभएको टिप्पणी गरेका छन् ।
उनले थपेका छन्, ‘मूलतः आठ लाख ६० हजार क्रियाशील सदस्य हुन् । पार्टीभित्रको आफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिँड्न नसक्नु नेतृत्वको असफलता हो । पार्टी आयोजनामा भएको कार्यक्रमलाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुइँक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाइ भएको छ ।’
प्रतिक्रिया दिनुहोस्