
काठमाडौं । आगामी चैत्र १७ गतेदेखि बैतडीको बनारसीधाममा कोटीहोम हुने भएको छ । बनारसीधाममा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण अतिरुद्राभिषेक तयारी सुरु भएको हो ।
बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पाटन नगरपालिका–३ मा पर्छ । उक्त कोटीहोममा बनारसीधाम विश्वनाथ परिसर सरयु गोमतीको संगम क्षेत्रमा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण, १ हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दीप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन गराइनेछ ।
त्यस्तै, ५ हजार ५ सय ५५ शालीग्रामसिला पुजन, ४ हजार ४ सय ४४ कलश पुजन, १०८ अखण्ड रामायण पाठपारायण, गायत्रीमहामृत्युञ्जय पुरश्चरण, आत्ममहापुराण, बिष्णुधर्मोत्तरपुराण वाशुकीपुराण, वाराहिसंहिता, १०८ उपनिषद्, चारवेद मृदंगपाठ प्रत्येक दिन सवालाख दीप प्रज्वलनगरी आरती गरिने तयारी रहेको छ । गंगा संगममा चारपल्ट महाआरती गरिने भएको छ । साथै विविध पाठपारायणको आयोजना गरिने तयारी छ ।
अतिरुद्राभिषेक, शतपतब्राह्मण पाठपारायण, शिवपञ्चाक्षरी मन्त्र सवालाखजप, वैदिक नवग्रहमन्त्र सवालाखजप, वास्तुमन्त्र सवालाखजप, पञ्चायन देवता सम्बद्ध बैदिकमन्त्रको सवा लाखजप, पाञ्चायन देवतासम्वद्ध अथर्वशिर्षपाठ गराइनेछ । यसका साथै पदमपुराण, मानसखण्ड, हिमवत्खण्ड, नेपालमहातम्य, महाकालसंहिता पाठपरायण लगायत विविध कार्यक्रमको वैदिक पद्धति अनुसार गरिने पञ्चाङ्गकार ज्योतिषाचार्य गणेश पन्तले बताए ।
पन्तका अनुसार आर्थिक अवस्था हेरी उपयुक्त हुने धार्मिक अनुष्ठान, यज्ञ सञ्चालन गर्ने निर्णय सबै पक्षको अवस्था हेरी सञ्चालन गर्ने तयारी गरिएको छ । ऐतिहासिक अतीरुद्राभिषेक धनधान्याञ्चल विश्व विराट संगितमय ज्ञान महायज्ञ कोटीहोममा नेपाल राष्ट्रका ऐतिहासिक जगद् गुरूहरुको उपस्थिति रहनेछ । यससँगै दक्षिण भारतबाट ब्राह्मण, भागवताचार्य गुरु, विद्वान प्रवचनकर्ता गुरु र काशिबनारसबाट शीर्षमुर्धन्यविद्वान गुरूहरुको उपस्थिति रहनेछ ।
बनारसीधाम क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक भौतिक एवं आर्थिक समग्र पक्षको संर्वाङ्गिणी विकासका लागि धार्मिक अनुष्ठान महायज्ञ सञ्चालन गर्ने तयारी थालिएको पन्तले जानकारी दिए । मुख्य पुजारी दलित हुने बनारसी धाममा प्राचिनकालको पौराणिक ऐतिहासिक एक मात्र विभेदरहित क्षेत्र रहेको विषयको देशभर सन्देश दिने कार्यक्रमको उद्देश्य रहेको उनको भनाई छ ।
यस कोटिहोमका लागि करिब १० करोड रुपैयाँ खर्च गरिने भएको छ । उक्त कोटिहोममा लाग्ने खर्च बराबरको भेटी संकलन हुने अपेक्षा रहेको पन्तले जानकारी दिए । त्यसभन्दा बढी भेटी संकलन भएमा उक्त रकम सोही मन्दीको स्तरउन्नतीका लागि खर्च गर्ने कोटीहोम आयोजकको तयारी छ ।
बनारसीधाममा सुदूरपश्चिम प्रदेशकै शक्तिपिठको रुपमा परिचित छ । हरेक वर्षको माघ शुक्लपक्षको शैल्यदशमीका दिन बनारसीधाममा विशाल मेलाका साथै पूजालाग्ने गर्दछ । साउनेमेला, मकरमेला, गंगादशहरामेला, कोटिहोममेला, अक्षय तृतियामेला, विभिन्न पर्वहरूमा पर्वपूजा, महास्नान महारुद्राभिषेक, जात्रा, उत्सव, नित्यपूजा गंगास्नान, श्राद्धतर्पण आदि भईरहने धामका धार्मिक प्रवक्ता पन्तले बताए ।
पौराणिक मान्यता अनुसार द्वापर युगमा खरर्परासुर (खपरे) बाणाशुर, भष्माशुर अन्धकाशुर कालयवन लगायतका महाभयानक दैत्य दानव र देवताबिच झडप भएर झडपकै बेला बनारसीले त्यसै धाम नजिकको तलाउमा लगेर आफ्नो १०० मनको गदा (गुर्ज) प्रहार गरि बध गरेको र त्यसै दिनदेखि देवताहरुले सर्वसम्मतिबाट स्वावासीदिँदै २२ तालको रुपमा नामकरण गरेको किम्बदन्ती छ ।
प्रतिक्रिया दिनुहोस्