विपीन जोशीको रिहाइ पहलका लागि अरब संसदका अध्यक्षलाई सभामुखले लेखे पत्र

काठमाडौं । सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् ।

सभामुख घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल-यमाहीलाई शुक्रबार पत्र लेख्दै विपीन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।

‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपीन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्‍याउने विश्वास व्यक्तरेका छन् ।

पत्रमा सभामुखले भनेका छन्, ‘सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।’

हमासले २०२३ अक्टोबर ७मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहेको छ । गएको आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिकआरी बासले सभामुखसँगको भेटमा विपीनको रिहाइका लागि संसदीय कूटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए ।

पत्रका सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान-प्रदान सम्झौताको स्वागत गरेको समेत उल्लेख गरेका छ ।

सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेक जस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन् ।

२५,माघ.२०८१,शुक्रबार १४:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्