वीपी राजमार्ग पुनर्निर्माणमा सरकार उदासीन बन्यो : माओवादी सांसद दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले वर्षायाममा पनि वीपी राजमार्ग सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाउन माग गरेका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माण प्रक्रियामा सरकार उदासीन बनेको उनको भनाइ छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद दाहालले यो वर्ष ५० करोड मात्रै बजेट सुनिश्चित गरियो भने पनि वर्षायाममा पनि वीपी हाइवेबाट सवारीसाधन आवतजावत गर्न सकिने बताए ।

‘यो वर्ष ५० करोड मात्रै बजेट सुनिश्चित गरियो भने वर्षायाममा पनि सवारीसाधन आवतजावत गर्न सकिने प्राविधिक स्टिमेट छ । अर्थ मन्त्रालयसँग पैसा नभए पनि विपद् व्यवस्थापन कोषमार्फत बजेट विनियोजन गरी यथाशीघ्र वीपी हाइवे निर्माण कार्य अघि बढाऔं । यसका लागि सभामुखज्यूले अर्थ मन्त्रालयलाई रुलिङ गर्न अनुरोध गर्दछु,’ उनले भने ।

प्राविधिक स्टिमेट अनुसार वीपी हाइवे पुनर्निर्माण गर्न १० अर्ब बजेट लाग्ने देखिए पनि यो वर्षको वर्यायामलाई मध्येनजर गरी अस्थायी सडक बनाउनुपर्ने उनको सुझाव छ ।

गत असोजको बाढीपहिरोबाट अर्बैको भौतिक पूर्वाधार क्षति भए पनि राहत र पुनर्स्थापनामा संघीय सरकारको उपस्थिति नदेखिएको उनको आरोप थियो ।

वीपी लोकमार्ग भएर दिनमा हजारौं सवारीसाधन आवतजावत गर्ने भए पनि उक्त सडक पुनर्निर्माणको प्रक्रिया अघि नबढेको उनको भनाइ थियो ।

वीपी राजमार्ग आसपासमा अवैध क्रसर सञ्चालनमा रहेको भन्दै उनले तत्काल त्यस्ता क्रसर उद्योग बन्द गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

क्रसर उद्योगबाट निस्कने लेदो रोशी नदीमा मिसिँदा बढी क्षति पुगेको भन्दै उनले मुलकोट, नेपालथोक, खुर्कोट लगायतका पर्यटकीय हबहरू उजाड बनेको बताए ।

२५,माघ.२०८१,शुक्रबार १५:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्