बाबुराम, माधव नेपाल र लीलामणि पौडेलविरुद्ध रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गर्ने मन्त्रिपरिषदका तत्कालीन प्रधानमन्त्री र मुख्य सचिवलाई समेत मुद्दा चलाउन माग गरिएको रिटमाथि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र रविन शर्माले दायर गरेको रिटमाथि आज प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेको पूर्ण इजलासमा सुनुवाइ भएको थियो । दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो ।

ललिता निवास जग्गा प्रकरणमा सीआईबीले गत वर्ष कर्मचारी र जग्गा किन्नेहरूलाई विपक्षी बनाएर मुद्दा दायर गरे पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र तत्कालीन मुख्य सचिव लिलामणि पौडेललाई उन्मुक्ति दिएको भन्दै रिट दायर भएको थियो ।

न्यौपानेले यसअघि अख्तियारलाई विपक्षी बनाएर बाबुराम, माधव नेपाल र लिलामणीलाई मुद्दा चलाउन माग गर्दै दायर गरेको रिटमाथि ५ वर्ष पुग्दा पनि फैसला भएको छैन । गत वर्ष सोही मुद्दामा फेरि सीआईबीले अनुसन्धान गरेर मुद्दा दायर भएको थियो ।

सर्वोच्च अदालतको आदेशपछि माधव नेपाल र डा. बाबुरामलाई सीआईबीले घरमै गएर बयान लिए पनि मुद्दा चलाइएको थिएन । त्यसका विरुद्ध परेको रिटको दोस्रो पेशी आज चढेको हो ।

४,बैशाख.२०८२,बिहीबार १६:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्