निषेधित क्षेत्रमा प्रहरीको कर्डन ड्युटी, कहाँ कहाँ छ प्रहरी ?

काठमाडौं । प्रदर्शनस्थल र अन्य कार्यक्रम नतोकी राप्रपाले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि उपत्यकाभरका प्रहरीलाई स्ट्याण्डबाई ड्युटीमा राखिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार आम नागरिकको दैनिक जीवन प्रभावित नहुने गरी प्रहरी ड्युटी खटाइएको छ । त्यसक्रममा बिहानैदेखि निषेधित क्षेत्रको सुरक्षाका लागि ‘सर्च एण्ड कर्डन’ ड्युटीमा प्रहरीलाई खटाइएको छ ।

प्रहरी स्रोतका अनुसार सिंहदरबार र सर्वोच्च अदालतलाई लक्षित गर्दै भद्रकाली र माइतीघरमा कर्डन ड्युटी राखिएको छ । भद्रकालीबाट सिंहदरबारतर्फ जाने सडकमा अलग्गै टोली तैनाथ हुने भएको छ ।

संसद भवनका रूपमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई लक्षित गर्दै बबरमहल र तीनकुनेसम्म त्यस्तो ड्युटी लगाइएको छ ।

राष्ट्रपति भवनलाई लक्षित गर्दै महाराजगञ्ज, नारायणगोपाल चोकदेखिकै सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरी तालिम केन्द्रबाट पानीपोखरीतर्फ जाने सडकलाई दृष्टिगत गर्दै अर्को त्यहाँ अलग्गै ड्युटी खटाइएको छ ।

लैनचौरमा रहेको उपराष्ट्रपति कार्यालयको सुरक्षाका लागि बालाजुबाट आउने सवारी साधनलाई अस्कल क्याम्पसबाटै अगाडि बढ्न नदिइने भएको छ । उक्त रुटबाट आउने सवारी साधनलाई होटल मल्लको छेउबाट ठमेल हुँदै डाइभर्ट गरिने योजना प्रहरीले बनाएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारको सुरक्षाका निम्ति नक्साल, भाटभटेनी मन्दिरसँगैको ढुंगेधारामा कर्डन ड्युटी तोकिएको छ । सभामुखको निवासतर्फ जानसक्ने भिडलाई नियन्त्रणमा लिन गैरीधाराबाट खोर्सानीटार जाने स्थानमा कर्डन ड्युटी तोकिएको छ ।

ड्युटीका क्रममा प्रहरीका तर्फबाट सर्वसाधारणको आवागमनलाई प्रभावित नपारिने नीति अवलम्बन गरिएको प्रहरी स्रोतले जनायो । तर, निषेधित क्षेत्र प्रवेश गर्ने भिड आएमा तत्कालै नियन्त्रणमा लिने गरी प्रहरीको तैनाथी तयार पारिएको छ । उनीहरूसँग सडक अवरोध गर्ने व्यारिगेट्ससहित हातहतियार र पर्याप्त जनशक्ति रहेको स्रोतले जनायो ।

आजको ड्युटीका लागि उपत्यकाका विभिन्न प्रहरी युनिटसहित विभिन्न गण र गुल्मको टोलीलाई पनि स्ट्याण्डबाई राखिएको छ ।

राप्रपाले स्थानीय प्रशासनसँग कुनै पनि कार्यक्रमका लागि अनुमति माग गरेको छैन । कार्यक्रमस्थल पनि तोकेको छैन ।

७,बैशाख.२०८२,आईतवार ०९:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्