शशांक निवासमा कांग्रेस संस्थापन पक्षका नेताहरूको जमघट

काठमाडौं । लोकतन्त्र दिवसको छेक पारेर नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चियापन कार्यक्रमको आयोजना गरेका छन् । महाराजगञ्जस्थित आफ्नै निवासमा कोइरालाले पार्टीका केही शीर्ष नेताहरूलाई बोलाएका थिए ।

महाधिवेशनको माहोल चलिरहेको बेलामा कोइरालाले संस्थापन पक्षमा रहेका शीर्ष नेतालाई बोलाएर पार्टीभित्र अर्थपूर्ण सन्देश दिन खोजेको बताइन्छ । कोइराला १५ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाबाट आशीर्वाद पाउने आशामा छन् ।

आजको चियापानमा कृष्ण सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशशरण महतलगायत पुगेका थिए । चियापान कार्यक्रमले पार्टीलाई एकताबद्ध बनाउने सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस अघि आगामी महाधिवेशनमा नेतृत्व हत्याउने दाउमा रहेका कोइरालाले प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग पटक पटक लञ्च मिटिङ गर्दै आएका थिए ।

कांग्रेसको १५ औं महाधिवेशन ०८२ मंसिरभित्र भइसक्नुपर्ने हुन्छ। तर, नियमित समयमा महाधिवेशन नहुने निश्चित भइसकेको छ। महाधिवेशन निश्चित नभएपनि नेताहरूले भने दौडधुप बढाइसकेका छन् ।

तर, देउवाले अहिलेसम्म उत्तराधिकारीका लागि कसैलाई तोकेका छैनन् । कांग्रेसमा कोइराला, निधि, सिंहसहित संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता गोपालमान श्रेष्ठ आकांक्षी छन् ।

इतर पक्षबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापा आ-आफ्नै तयारीमा छ्न् । शेखरले आफ्नै तयारीबाट ब्याक नहुने भएपछि महामन्त्री थापा पछिल्लो समय सभापति देउवासँग नजिकिँएको चर्चा छ ।

तर, गगनलाई रोक्न संस्थापन पक्षका नेताहरु एकजुट हुने प्रयास गरिरहेको बेलामा शशांकले केही नेताहरूलाई चियापानमा बोलाएर शक्ति प्रदर्शन गर्न खोजेको कांग्रेसवृत्तमा चर्चा छ ।

११,बैशाख.२०८२,बिहीबार १२:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्