
एजेन्सी । पाकिस्तानले भारतले ३६ घन्टाभित्र आक्रमण गर्नसक्ने दाबी गरेको छ। जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी भारतको छ।
सोही आधारमा भारतले पाकिस्तानमाथि २४ देखि ३६ घन्टाभित्र आक्रमण गर्न सक्ने विश्वसनीय सूचना प्राप्त भएको पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका छन्।
‘आधारहीन र मनगढन्ते आरोपको बहानामा भारतले आगामी २४-३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानसँग विश्वसनीय गुप्तचर जानकारी छ,’ उनले सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै भनेका छन्।
मन्त्री तरारले आफ्नो भनाइलाई पुष्टि हुने आधार भने सार्वजनिक गरेका छैनन्।
यद्यपि कुनै पनि प्रकारका सैन्य कारबाही भए पाकिस्तानले त्यसको जबाफ दिने चेतावनी पनि मन्त्री तरारले दिएका छन्। र ती सबैको जिम्मेवार भारत हुने उनले बताएका छन्।
भारतको जम्मू-कश्मिरमा वैशाख ९ गते आतंकवादी हमला भएको थियो।
उक्त हमलामा नेपालका सुदीप न्यौपानेसहित २६ जना मारिएका थिए। हमलाको जिम्मा ‘द रेसिस्टेन्ट फ्रन्ट’ (टिआरएफ) नामक आतंकवादी समूहले लिएको थियो।
Pakistan has credible intelligence that India intends carrying out military action against Pakistan in the next 24-36 hours on the pretext of baseless and concocted allegations of involvement in the Pahalgam incident.
Indian self assumed hubristic role of Judge, Jury and… pic.twitter.com/WVW6yhxTJ0— Attaullah Tarar (@TararAttaullah) April 29, 2025
भारतले टिआरएफलाई पाकिस्तानी गुप्तचर र सेनाको समर्थन रहेको दाबी गर्दै आएको छ। पाकिस्तानले भने घटनामा आफ्नो संलग्नता इन्कार गर्दै आएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले निष्पक्ष छानबिनका लागि आफूहरू तयार रहेको बताएका छन्। घटनापछि भारतले पाकिस्तानसँगको शिन्धु जलसम्झौता निलम्बन गरेको छ।
शिन्धु जलसम्झौता अन्तर्गत सिन्धु नदीसहित पाँच वटा अन्य नदीबाट पाकिस्तानमा पुग्ने पानी तत्कालका लागि कटौती गर्ने निर्णय भारतले गरेको छ। विश्लेषकहरूले यो सम्भव नभएको बताउँदै आएका छन्।
त्यस्तै दुवै देशले एक-अर्काका कुटनीतिज्ञहरूलाई फिर्ता गरिसकेका छन्। भारतले आफ्नो देशमा भएका पाकिस्तानीहरूलाई मे महिनाको १ तारिखसम्म भारत छाड्न भनेको छ।
उसले सार्क राष्ट्रको विशेष भिसासमेत रद्द गरेको छ।
त्यसको जबाफमा पाकिस्तानले पनि सिमला सम्झौता, भारतसँगको सबै द्वीपक्षीय सम्झौता र व्यापारसमेत तत्कालका लागि रोक्ने निर्णय गरेको छ। त्यस्तै पाकिस्तानी आकाशमा भारतीय जहाजहरूलाई समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
जम्मू-कश्मिरको नियन्त्रण रेखा (एलओसी) मा भारतीय र पाकिस्तानी सेनाबीच पनि गोलो हानहान भइरहेको छ।
पाकिस्तानमा भारतले आक्रमण गर्नसक्ने खुफिया सूचनाबारे विस्तृत जानकारी दिन भनेर मन्त्री तरारले आजै पत्रकार सम्मेलनको तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्