युद्धमा भारत-पाकिस्तान, दुवै पक्षबाट मिसाइल आक्रमण

काठमाडौँ । कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले अन्ततः भारत र पाकिस्तानलाई युद्धमै डोर्‍याएको छ । सन् १९४७ मा विभाजनयता सन् १९६५, १९७१ र १९९ मा युद्ध लडेका दुई देश हवाई तथा स्थल युद्धमा होमिएपछि विश्वभर चिन्ता छाएको छ ।

‘अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको थियो । उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको थियो ।

पाकिस्तानले बिहीबार अपराह्न उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दाबी छ । पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ ।

ती सहरमा गरिएका हमलालाई हवाई प्रतिरक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको दाबी भारतीय रक्षा मन्त्रालयले गरेको छ । लगत्तै भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारिदिएको भारतको दाबी छ ।

बुधबारयता २५ वटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये ३ ड्रोन रावलपिन्डीमा खसालेको दाबी छ । पाकिस्तानका कराँचीलगायतका केही सहरमा ड्रोनका कारण क्षति पुगेका तस्बिर सार्वजनिक भएका छन् ।

पाकिस्तानले भारत प्रशासित जम्मु सहरमा बिहीबार साँझ हमला गरेको छ । समाचार एजेन्सीका अनुसार जम्मुस्थित विमानस्थलमा विस्फोट भएको छ । ‘गोलाबारी वा क्षेप्यास्त्र हमलाको आशंका गरिएको छ,’ जम्मु–कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेष पल वैदले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाल त्यहाँ ब्ल्याकआउट छ ।’

लगत्तै क्रिकेट शृंखला आईपीएलअन्तर्गत हिमाञ्चलको धर्मशालामा बिहीबार साँझ भइरहेको पञ्जाब र दिल्लीबीचको खेल पनि पहिलो इनिङ्सको ११ औं ओभरमा रोकिएको थियो । भारतको पञ्जाब प्रान्तको पठानकोट सहरमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।

पाकिस्तानले जम्मु–कश्मीरमा गरेको आक्रमणमा ज्यान गुमाउनेको संख्या १६ पुगेको भारतीय विदेश सचिव विक्रम मिस्रीले पुष्टि गरेका छन् । उनका अनुसार ५९ जना घाइते छन् । ‘पाकिस्तानले सर्वसाधारणमाथि आक्रमण गरेको छ, पहलगाममा २२ अप्रिलमा भएको आक्रमणमा पाकिस्तान जिम्मेवार छ भन्ने फेरि पुष्टि भएको छ,’ प्रेस ब्रिफिङमा मिस्रीले भने ।

उता, भारतीय हवाई हमलाले नीलम–झेलम बाँधमा क्षति पुगेको पाकिस्तानले जनाएको छ । भारतले भने त्यसको खण्डन गरेको छ । ‘नीलम–झेलम बाँधमा क्षति पुगेको भन्ने पाकिस्तानको दाबी सरासर झूट हो,’ विदेश सचिव मिस्रीले भने, ‘भारतले आतंकवादीका पूर्वाधारमा मात्रै हवाई आक्रमण गरेको छ ।’

नीलम–झेलम बाँध पाकिस्तान प्रशासित कश्मीरमा रहेको जलविद्युत् परियोजनाको एक हिस्सा हो । बाँधले नीलम नदीको पानीलाई झेलम नदीमा रहेको विद्युत् केन्द्रमा मोड्छ । ९ सय ६९ मेगावाट क्षमताको उक्त विद्युत् केन्द्र मुजफ्फराबादबाट ४२ किलोमिटर दक्षिणमा छ ।

भारतसँग तनाव बढेपछि पाकिस्तानको पञ्जाब प्रान्तका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । पञ्जाब सरकारले शुक्रबार र शनिबार सबै विद्यालय बन्द राख्न आदेश दिएको हो । ओ–लेभल र ए–लेभलका परीक्षा भने तोकिएकै तालिकाअनुसार जारी रहने जनाइएको छ । भारतको पञ्जाब प्रान्तमा पनि तीन दिन विद्यालय बन्द गरिएको छ ।

पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । दूतावासले वेबसाइटमा सूचना जारी गर्दै लाहोरको मुख्य विमानस्थल वरपरको क्षेत्र खाली गर्ने पाकिस्तानी अधिकारीको तयारी रहेको पनि जानकारी दिएको छ ।

आईपीएल र पीएसएल प्रभावित

भारत–पाकिस्तानबीच तनाव बढेपछि दुवै मुलुकमा भइरहेका क्रिकेट लिग प्रभावित भएका छन् । भारतको उत्तरी सहर धर्मशालामा बिहीबार साँझ पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल चल्दाचल्दै स्थगन गरिएको छ ।

पञ्जाब किंग्सले १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाएको अवस्थामा खेल रोकिएको हो । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले रंगशालामा ‘गम्भीर प्राविधिक समस्या’ भएकाले खेल रोक्नुपरेको जनाएको छ । तर, पाकिस्तानले जम्मु सहरमा आक्रमण गरेपछि विद्युत् आपूर्तिमा अवरोध र सुरक्षा चुनौतीले खेल रोकिएको अधिकारीहरूले जनाएका छन् ।

धर्मशालामा आइतबार हुने भनिएको आईपीएलको खेल यसअघि नै गुजरातको अहमदाबाद सहरमा सारिएको छ । गुजरात क्रिकेट संघका सचिव अनिल पटेलले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार धर्मशालामा हुने भनिएको पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको खेल अहमदाबादमा हुनेछ ।

यस्तै, पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा बिहीबार साँझका लागि निर्धारित पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको खेल रद्द गरिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अधिकारीले पीएसएलका बाँकी सबै खेल कराँची, दोहा र दुबईमा सार्न सुझाव दिएका छन् । पीसीबीले बुधबार भारतीय आक्रमण र दुई मुलुकबीच बढ्दो तनावका बाबजुद पीएसएल निर्धारित योजनाअनुसार नै अगाडि बढ्ने बताएको थियो । पीएसएल मे १८ मा समाप्त हुने तालिका छ, अन्तिम खेल लाहोरमा हुने तय छ ।

आतंकवादविरुद्धको लडाइँमा सबैलाई साथ : नेपाल

भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाइँमा सबैको साथमा रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैसँग साथमै उभिएको जनाएको हो ।

भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलापछि दुई देशबीच तनाव बढेको हो । पहलगाम घटनामा १ नेपाली नागरिकसहित २६ जनाले ज्यान गुमाएका थिए । ‘उक्त दुःखद घटना र साझा पीडामा नेपाल र भारत एक ठाउँमा उभिएका थिए,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘उक्त आततायी आतंकवादी हमलाको नेपालले तुरुन्तै स्पष्ट रूपमा भर्त्सना गरेको स्मरणीय छ । नेपालको आतंकवादविरुद्धको अडान दृढ छ ।’

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालले चिन्ता व्यक्त गरेको छ । साथै, आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता नेपालले जनाएको छ । भारत र पाकिस्तानबीचको द्वन्द्व कम हुने अपेक्षा गर्दै नेपालले यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने आशा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

२६,बैशाख.२०८२,शुक्रबार ०७:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्