युवतीलाई वेश्यावृत्तिका निम्ति भारत लैजाने गिरोह सक्रिय, एक पक्राउ

वीरगञ्ज । भारतका विभिन्न शहरमा सञ्चालित यौन व्यवसायका लागि नेपाली युवतीलाई लैजाने गिरोहका एक व्यक्ति पक्राउ परेका छन् ।

एक विवाहित महिलालाई रोजगारी दिने बहानामा भारततर्फ लैजाँदै गर्दा बाराको सिम्रौनगढ- १०, देवापुरका २५ वर्षीय सुरज गुप्ता भारतीय सीमावर्ती नाकाबाट सोमबार राति पक्राउ परेका हुन् ।

भारतको विहार जिल्ला अन्तर्गत मोहितहारी, झरौखर थानाअन्तर्गत जमुनियास्थित एसएसबी टोलीले नियन्त्रणमा लिई ती व्यक्तिलाई जिल्ला प्रहरी रौतहटमा बुझाएको हो ।

उनी नेपाल-भारतीय सीमास्तम्भ नम्बर ३५५६/२ बाट एसएसबीको नियन्त्रणमा आएका हुन् । युवतीबाट ५० हजार र गुप्ताबाट १२ हजार नेपाली रुपैयाँ बरामद भएको छ ।

उनले अमृतगञ्ज बस्ने २० वर्षीया विवाहित युवतीलाई मोटरसाइकलमा राखेर भारतीय शहर घोडासान लैजाँदै थिए । पक्राउ परेका गुप्ताले प्रहरीलाई बताएअनुसार, दिल्लीमा उनकी सानिमाले सञ्चालन गर्ने यौन व्यवसायका लागि नेपाली युवतीको माग भएका कारण त्यस्तो काम गरेका हुन् ।

युवतीले आफूलाई भारतमा रोजगारी दिलाइदिने भनेपछि त्यसको लोभले उनको साथमा गएको बताएकी छन् । उनलाई रौतहटको बंकुलस्थित प्रहरी चौकीले एक सामाजिक संस्थाका प्रतिनिधिको रोहवरमा जिम्मा लगाएको छ ।

गुप्ताले भारतीय सीमानजिकै चिनजानको घरमा मोटरसाइकल राखेर भारतीय बजार घोडासानबाट रेल यात्राबाट दिल्ली जाने योजना बनाएका थिए ।

गुप्तालाई थप कारबाहीका निम्ति रौतहट प्रहरीले जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ । उनका विरुद्ध मानव बेचबिखन मुद्दा आकर्षित हुने बाराका एसपी सन्तोष तामाङले बताए ।

३१,बैशाख.२०८२,बुधबार १२:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्