विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ : सांसद गिरी

काठमाडौँ । नेकपा (एमाले) का सांसद पदम गिरीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गिरीले यस्तो बताएका हुन् ।

उनले जनतामा रहेको तीव्र विकासको हुटहुटीलाई सम्बोधन गर्ने गरी सिद्धान्त र प्राथमिकता आएको बताए । बजेट निर्माणका सम्बन्धमा सरकारले विगतको अभ्यास दोहोर्‍याउने नभई ब्रेक थ्रु गर्न खोजेको सांसद गिरीको भनाइ छ ।

उनले विगतमा बजेट बिना तयारी ल्याइने, लगानीको स्पष्ट खाका नबनाइने र खर्च गर्न नसकिने अवस्थाले पूँजीगत खर्च न्युन हुने स्थिति निर्माण भएको उल्लेख गर्दै यसमा सरकार गम्भीर बन्नुपर्ने समेत बताए ।

उनले सरकारलाई पूँजीगत खर्च वृद्धि गर्न स्पष्ट कार्य योजना बनाउन, प्राथमिकता आधारित आयोजना छनोट गर्न र कृषि तथा उत्पादनशील क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने रणनीतिका साथ अगाडि बढ्न सुझाव दिए ।

लोकरिझ्याइँका लागि नभई मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्ने दृढ सङ्कल्पका साथ सरकार उभिनुपर्ने बताए ।

३१,बैशाख.२०८२,बुधबार १४:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्