लुम्बिनीमा पुगे ११२ देशका पर्यटक: दानपेटिकामा १०० देशका मुद्रा

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरबाट पर्यटक आउँछन् र आफ्नो गच्छेअनुसार दानभेटी चढाउँछन् । लुम्बिनीको तथ्यांक अनुसार यहाँ ११२ देशका पर्यटक आएका छन् । त्यस्तै यहाँको दानपेटिकामा १०० वटा देशका मुद्रा भेटिएका छन् ।

लुम्बिनी विकास कोषका अनुसार नेपाल राष्ट्र बैंकले जारी गर्ने परिवर्तित मुद्राको सूचीमा नपरेका ३९ मुलुकका मुद्रा दानपेटिकामा भेटिएका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले दानपेटिकामा १०० भन्दा बढी देशका मुद्रा भेटिएको र ती अधिकांश साटिएको बताए ।

‘अफ्रिका र ल्याटिन अमेरिकाका केही देशहरुको मुद्रा साटिन सकेको छैन । लुम्बिनीमा आएका सबै देशका मुद्रा राख्नेगरी संग्रहालयको कल्पना गरिएको छ, तर लुम्बिनी वा बृहतर लुम्बिनी परिसरमा एउटा मुद्रा संग्रहालय बनाउन प्रस्ताव गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन’, उनले भने, ‘संग्रहालयमा देशको मुद्रा र उक्त मुलुकको पहिचान र गौरवबारे सानो परिचय राखेर व्यवस्थापन गर्नसके पर्यटक भित्र्याउन सकिन्छ भन्ने लागेको छ । यसले इतिहास पनि जोगाउने र पर्यटकलाई पनि सहज हुने अपेक्षा गर्न सकिन्छ ।’

इतिहासका अध्येयता युवराज कँडेल पर्यटकले चढाएको मुद्रालाई विकास कोष र सरकारले प्रचार गरेर लुम्बिनीमा पर्यटनको थप विकास गर्न सकिने बताउँछन् ।
‘लुम्बिनी परिसरभित्रै संग्रहालय बनाएर ती मुद्रा राख्नुपर्छ । यसो गर्दा ती देशका नागरिकमा अपनत्व हुन्छ’, उनले भने, ‘यसका साथै बुद्धकालीन मुद्रासमेत राख्न सकिए विश्वका धेरै नागरिकको अध्ययनको विषय बन्नसक्छ ।’

संस्कृतिविद् डा. गीतु गिरीले विश्वका धेरै देशबाट लुम्बिनीमा पर्यटक आउने भनिए पनि १०० वटा देशका मुद्रा नै भेटिनु ठूलो प्रमाण भएको बताए ।

‘यो पहिलो पटक भेटिएको बलियो प्रमाण हो, अब यसलाई संग्रहालयमा राखेर विश्वव्यापी ब्रान्डिङ गरिनुपर्छ’, उनले भने, ‘कोषमै आधुनिक मुद्रा संग्रहालय बनाएर राखेपछि विश्वमै यसको अध्ययन गर्ने स्थान हुन्छ ।’

कोषका अनुसार पहिले लुम्बिनीमा ८४ भन्दा बढी मुलुकका पर्यटक आउने र उनीहरूले मायादेवी मन्दिर तथा अशोक स्तम्भमा राखिएका दानपेटिकामा भेटीस्वरूप आफ्नै देशको मुद्रा चढाउने गरेका थिए । यसरी चढाइएका ३९ मुलुकका मुद्रा पछिल्लो सात वर्षदेखि सटही हुन सकेको थिएन, तर अहिले अधिकांश साटिएका छन् ।

कोषले अहिले लुम्बिनी भ्रमण गर्ने देश र त्यसको मुद्राको संख्या थपिएको जनाएको छ । कोषले मायादेवी मन्दिरभित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट बर्सेनि झण्डै चार करोड रुपैयाँ भेटीवापतको आम्दानी गर्छ । सोही आम्दानीबाट कर्मचारीको तलबभत्ता र अन्य व्यवस्थापनको काम गरिँदै आएको छ । कोषले हरेक तीन महिनामा दानपेटिका खोलेर भेटी गणना गर्दै आएको छ ।

कोषको आन्तरिक आम्दानीको मुख्य स्रोत रहेको दानवापतको भेटी सटही नहुँदा मुद्रा मक्किने र च्यातिने जोखिम थियो । कोषका लेखा प्रमुख नवलकिशोर यादवका अनुसार राष्ट्र बैंकको समन्वयमा लामो समय सटही नभई थन्किएका धेरै देशका मुद्राहरु सटही भएको छ । उनले अब हरेक वर्ष जम्मा गरेर साटिने व्यवस्था भएको बताए ।

उनका अनुसार लामो समय सटही नभएर राखिएका मुद्रामध्ये सबैभन्दा धेरै म्यानमारको ११ करोड ८० लाख ७९ हजार २५० क्याट, ओमनको ५ हजार ३३९ रियल, २२ लाख ७७ हजार २३० श्रीलंकन, पेरुको ६ लाख ५१ हजार ८३, भियतनामको ४ लाख ९८ हजार ३९८, इण्डोनेसियाको २ लाख ७० हजार ७४५, कम्बोडियाको १ लाख ९८ हजार ७०९, भुटानको १ लाख १ हजार ४९२ नेपाली रुपैयाँ बराबरको मुद्रा सटही भएको हो ।

मंगोलिया, बंगलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, इरान, मोरिसस, युगान्डा, इराक, माल्दिभ्स, चिली, स्वीडेन, रसिया, टर्की, ग्वाटेमाला, पोल्यान्ड, युक्रेन, ताइवान, जोर्डन, लेबनान, ब्राजिल, इजिप्ट, ब्रुनाई, सियरा लिओन, नोर्गिज क्रोनरलगायत केही देशका मुद्रा पनि अधिकांश साटिएको र केही संग्रहालयमा राख्ने योजना भएको कोषले जनाएको छ ।

सन् २०२४ मा आए ११२ देशका पर्यटक

सन् २०२४ मा भारतसहित ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेको रेकर्ड लुम्बिनी विकास कोषसँग छ । कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए ।

गतवर्ष तेस्रो मुलुकका १ लाख ११ हजार ४०३ जना लुम्बिनी आएका हुन् । भारतबाट भने ३ लाख ८८९ पर्यटकले भ्रमण गरेका छन् । तेस्रो मुलुकका पर्यटक अघिल्लो वर्षको तुलनामा गत वर्ष ४८ प्रतिशतले बढेको छ  । सन् २०२३ मा भारतबाहेक ८५ मुलुकका ७६ हजार २१० पर्यटक लुम्बिनी पुगेका थिए । सन् २०२२ मा ९६ देशका २३ हजार ९९२ र २०२१ मा ६८ मुलुकका १ हजार १९७ जना लुम्बिनी भ्रमणमा आएका थिए ।

कोरोना महामारीअघि सन् २०१९ को अवस्थामा भने अझै पुग्न नसकेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतको भनाइ छ । उक्त वर्ष भारतबाहेक ११५ देशका १ लाख ७४ हजार १५ पर्यटक आएका थिए ।

गत वर्ष नजिकको चीनदेखि सबैभन्दा टाढाको दक्षिण अमेरिकी मुलुक चिलीसम्मका पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष चीनबाट १३ हजार १२ र चिलीबाट १९ जना पर्यटक लुम्बिनी पुगेका छन् । त्यस्तै युद्धरत इजरायलबाट ११५ र युक्रेनबाट ५६ जनाले लुम्बिनी भ्रमण गरेका छन् ।

गत वर्ष तेस्रो मुलुकतर्फ सबैभन्दा बढी श्रीलंकाबाट २३ हजार ५६९ जना आएका थिए । दोस्रोमा थाइल्यान्डबाट २१ हजार ४९६ पर्यटकले भ्रमण गरेका छन् । चौथोमा म्यानमारबाट १० हजार ५१७, पाँचौंमा भियतनामबाट ८ हजार ५०० र छैटौंमा दक्षिण कोरियाबाट ४ हजार ६४६ पर्यटक आएका थिए ।

गतवर्ष श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे, श्रीलंकाका पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री रनिलविक्रमा सिंघेले लुम्बिनी भ्रमण गरेका थिए । त्यस्तै चीनका राष्ट्रिय धार्मिक मामिला प्रशासनमन्त्री चेन रुइफेङ, चिनियाँ उपमन्त्री वाङ रुइजुन र विश्व चर्चित हलिउड अभिनेता जेट ली पनि लुम्बिनी आएका थिए ।

गत वर्ष मुस्लिम बाहुल्य इरानबाट ३६, पाकिस्तानबाट २३ र अफगानिस्तानबाट ३ जना आएको कोषको तथ्यांक छ । द्वन्द्वग्रस्त सुडानदेखि सिरिया, टर्की र सोमालियासम्मका पर्यटक यहाँ आएका छन् । अल्बानिया, आर्मेनिया, कोस्टारिका, गुएना, इथियोपिया, जर्जिया, हैटी, इराक, आइभरी कोस्ट, कजाकस्तान, उत्तर कोरिया र लाइबेरियाका १-१ जना आएको कोषको तथ्यांक छ  ।

त्यसो त लुम्बिनीमा स्वदेशी पर्यटक पनि बढेका छन्  । गत वर्ष ७ लाख ५९ हजार ९९० नेपालीले लुम्बिनी भ्रमण गरेका थिए  । सन् २०२३ मा ६ लाख ५६ हजार २१८ जनाले भ्रमण गरेका थिए । सन् २०२२ मा ६ लाख ४९ हजार ७८ र २०२१ मा ४ लाख ६३ हजार ९६३ जनाले भ्रमण गरेका थिए  ।

मुलुकको सहज अवस्था र लुम्बिनीमा विभिन्न पूजा तथा कार्यक्रमले पर्यटक बढेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् ।

२०७९ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछि भारतीय आध्यात्मिक गुरु मुरारीबापुको आवागमनपछि लुम्बिनी आउने भारतीय पर्यटकको संख्या पनि बढेको छ । सन् २०२३ मा २ लाख ६६ हजार ५१० र २०२२ मा २ लाख ३० हजार ८६३ भारतीय पर्यटक लुम्बिनी आएका थिए । मोदी र बापुको भ्रमणबाट लुम्बिनीको प्रचार हुँदा भारतीय पर्यटक बढेको पर्यटन व्यवसायीको भनाइ छ ।

लुम्बिनीमा पर्यटकको आवागमन बढे पनि उनीहरूको बसाइ लम्ब्याउन नसक्दा फाइदा लिन नसकेको व्यवसायी ज्ञवालीको भनाइ छ । उनका अनुसार लुम्बिनी आउने २० प्रतिशत पर्यटक पनि अर्को महत्वपूर्ण बुद्धस्थल तिलौराकोट र रामग्राम पुग्दैनन् ।

कोषका सदस्यसचिव सानुराजा शाक्य ती ठाउँ समेट्दै आकर्षक प्याकेज बनाएर पर्यटकको बसाइ लम्ब्याउन सके स्थानीय व्यवसायी र मुलुकलाई नै फाइदा पुग्ने बताउँछन् । संघीय सरकारले लुम्बिनीसहित कपिलवस्तु र नवलपरासीका बुद्धस्थललाई समेटेर लुम्बिनी परिपथका रुपमा योजना अघि सारेको छ भने प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको छ ।

न्यूयोर्क टाइम्सको नवौं स्थानमा राखेपछि बढ्यो उत्साह

विश्व सम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । केही समयअघि सार्वजनिक भएको यो सूचनाले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । कोषका सदस्य सचिव शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताउँछन् ।

नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उनले यो गौरवलाई जोगाइराख्नु पर्ने बताए ।

२७,जेष्ठ.२०८२,मंगलवार १३:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्