अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द

चितवन । अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गरिएको छ ।

अत्यधिक गर्मी बढेपछि भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

गर्मीका कारणले सबै भन्दा बढी विद्यालय जाने बालबालिका प्रभावित भएपछि भरतपुर महानगरपालिकाले २८-३० जेठसम्म र खैरहनी नगरपालिकाले २८ जेठमा विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले एक सूचना जारी गर्दै विद्यालय बिदा दिएका बेलामा बालबालिकालाई दिउँसोको समयमा घरबाहिर हिँड्डुल गर्न नदिन, नदी पोखरीहरूमा पौडी खेल्न जान नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन अभिभावकमा अनुरोध गरेका छन् ।

यस्तै खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद शर्माले एक सूचना जारी गर्दै नगर क्षेत्रका सबै विद्यालयमा २८ जेठमा विदा दिने निर्णय भएको जनाएका छन् ।

पछिल्लो समय चितवनको अधिकतम तापक्रम ३७/३८ डिग्री सेल्सियससम्म पुगेको छ ।

२७,जेष्ठ.२०८२,मंगलवार १७:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्