गर्मीको कहर: वीरगञ्जलगायत ठाउँमा जनजीवन अस्तव्यस्त, विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

वीरगञ्ज । पछिल्ला केही दिनयता मधेश प्रदेशमा बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बालबालिका, मजदुर र सर्वसाधारणले असहज महसूस गरेका छन् ।

पर्सा, बारा र रौतहट लगायतका जिल्लाका विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । केहीले बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकाले जेठ २९ र ३० गते दुई दिनका लागि सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको छ । विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि र अभिभावकको व्यापक मागपछि यो निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

पर्साकै पोखरिया नगरपालिकाले जेठ २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि विद्यालय बन्द गरेको छ ।

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस हुनेसम्मका घटना भएपछि बाराको कलैया उपमहानगरपालिकाले पनि जेठ २८ गतेदेखि ३० गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएको छ ।

रौतहटको गौर नगरपालिकाले भने अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन बिहीबारदेखि लागू हुने गरी सबै सामुदायिक र निजी विद्यालयहरूलाई बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

वीरगन्जमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो भने बिहीबार ३६ डिग्री सेल्सियस रहेको छ। चर्को गर्मीका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ, विशेषगरी बालबालिका, मजदुर र साना सडक व्यवसायीहरू बढी प्रभावित छन् ।

सडक किनारमा ठेला वा पसल राख्ने व्यवसायीहरूलाई दिउँसोको चर्को घाममा बस्न कठिन भएको छ भने ग्राहकहरूको चहलपहल पनि कम हुँदा उनीहरूको आम्दानीमा असर परेको छ।

जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा (लू) चल्ने क्रम जारी रहने अनुमान गरेको छ। स्वास्थ्यकर्मीहरूले गर्मीबाट बच्नका लागि पर्याप्त पानी पिउन, झोलिलो पदार्थ सेवन गर्न, दिउँसो घरबाहिर ननिस्कन, हल्का र खुकुलो कपडा लगाउन सुझाव दिएका छन् ।

२९,जेष्ठ.२०८२,बिहीबार १५:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्