
रुपन्देही । पर्यटन प्रवर्द्धनका लागि हिँडेको जाऊँ है पोखरा अभियानको टोली र रुपन्देहीका व्यवसायीबिच सहकार्यको सहमति भएको छ । तिलोत्तमामा भएको अन्तर संवाद कार्यक्रममा पर्यटन प्रवर्द्धनको लागि दुवै ठाउँका व्यवसायीबिच सहकार्य हुनुपर्ने बताइएको थियो। यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उचित सञ्चालनका लागि सरकारलाई संयुक्त दबाब दिनुपर्ने उनीहरूको भनाइ छ।
होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन् भन्ने मान्यतालाई अनुसरण गर्दै जाऊँ है पोखरा अभियान सञ्चालन गरेको जानकारी दिए। पर्यटनको माध्यमबाट सातै प्रदेश जोड्ने उद्देश्यले अभियानको प्रचारको लागि देशका विभिन्न ठाउँमा पुगेको उनले बताए।
कार्यक्रममा होटेल संघ नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटेल संघका अध्यक्ष सिपी श्रेष्ठले पर्यटन प्रवर्द्धनको लागि रुपन्देही र पोखराका व्यवसायी सँगसँगै अघि बढ्ने बताए। उनले भारतीय पर्यटकहरूलाई सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे। हानका अर्का केन्द्रीय सदस्य गोपाल रानाले लुम्बिनी र पोखरा देशका अपार सम्पत्ति भएको भन्दै सरकारले यसमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आफू कास्कीको सिडिओ हुँदा पोखराको लेकसाइडलाई २४ घण्टा खुलाउने पहल गरेको जानकारी दिए। हानका केन्द्रीय सदस्य एवम् होटेल संघ पोखरा नेपाल सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले पर्यटनका लागि पहुँच अर्थात् एक्सेसिबिलिटी महत्त्वपूर्ण हुने भनाई राखे।
होटेल व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष महेन्द्र श्रेष्ठले पोखरा र लुम्बिनीको पर्यटनलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका थिए। कार्यक्रममा व्यवसायी र सञ्चारकर्मीले विचार, जिज्ञासा र सुझाव राखेका थिए। उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा यो अभियान सञ्चालन भएको हो।
प्रतिक्रिया दिनुहोस्