
काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिए ।
‘विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला(संस्कृति र पहिचानलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौं,’ उनले भने ।
अध्यक्ष वैद्यका अनुसार कार्यक्रममा ५० बढी मेचीदेखि महाकालीसम्मका थारू कलाकारहरूले थारूको लोक गीत, मौलिक नाँचहरू धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृति झल्कने प्रकारको प्रस्तुति दिने छन् ।
उनले पहिलो दिन सांस्कृतिक कार्यक्रम र दोस्रो दिन वार्षिक साधारणसभा पनि हुने जसमा केही विधान संशोधन हुने जानकारी दिए ।
पहिलो दिन ‘भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान’ भन्ने मूल नारासहित वृहत्त थारू सांस्कृतिक कार्यक्रम हुने उनले बताए ।
कार्यक्रममा थारू परिकारहरूको स्वाद लिन सकिने स्टल, थारू परम्परागत पहिरन, गहना र सांस्कृतिक सामाग्रीहरूको प्रदर्शनी पनि राखिने छन्।
राष्ट्रिय स्तरमा थारू कलाकारहरूको उपस्थितिमा पहिलो पटक यस्तो बृहत सांस्कृतिक कार्यक्रम गर्न लागेकाले अर्थ व्यवस्थापनका लागि काठमाडौंका विभिन्न ठाउँमा टिकट खुला गरिएको उनले बताए ।
उनले कार्यक्रमलाई भव्य र सुसंस्कृत बनाउन सम्पूर्ण थारू संघसंस्था, संस्कृति प्रेमी र सरोकारवालालाई सहभागी हुन अपिल गरे ।
प्रतिक्रिया दिनुहोस्