
रुपन्देही । पूर्वउद्योग तथा श्रममन्त्री एवम् नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डीराज शास्त्री पौडेलको सोमबार निधन भएको छ । समाजवादी चिन्तकको पहिचान बनाएका शास्त्री २०४८ साल र ०५१ सालमा भएको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट विजयी भएका थिए ।
तत्कालीन समयमा उनी उद्योग तथा श्रम मन्त्री बनेका थिए। ३ श्रीमती, २ छोरा र ३ छोरी रहेका ९० वर्षीय शास्त्रीको सोमबार बिहान काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको र छोराहरू देश बाहिर रहेकाले आएपछि अन्तिम संस्कार गरिने उनका ज्वाईँ धु्रव आचार्यले जनाए ।
२०१० मा बनारस पढ्दादेखि नै नेपाली कांग्रेससँग आवद्ध शास्त्री अध्ययन सकेर घर फर्केपछि भूमिगतरूपमा नेपाली कांग्रेसको संगठन विस्तारमा लागेका थिए। २०१४ सालमा नेपाली कांग्रेसले सुरू गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँचीको अगुवाइ, २०१५ सालको आमनिर्वाचनमा सक्रियरूपमा लागेको र २०१७ साल पुस १ गते राजा महेन्द्रले संसद भंग गरी नेताहरूलाई जेल हाल्ने क्रममा गुल्मी अर्घाखाँचीका लडाकु युवाहरूलाई क्रान्तिमा संलग्न गराउने कार्यमा उनले अग्रणी भूमिका निर्वाह गरेको कांग्रेस नेताहरु बताउँछन् ।
शास्त्रीले भूमिगतरूपमा अर्घाखाँची गुल्मीलगायतका जिल्लामा नेपाली कांग्रेसको संगठन विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेको कांग्रेसजन बताउँछन् ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ८ निमडाँडामा बुवा खेमराज पौडेल र माता साबित्रा पौडेलको जेठो सन्तानको रूपमा १९९३ सालमा उनको जन्म भएको थियो । बिपी कोइरालाका अनुयायी शास्त्री समाजवादका व्याख्यातासँगै सादगी नेताको पहिचानले चिनिन्थे ।
ढुण्डिराज जेठी श्रीमति बितेको २० दिनमा अस्ताएका हुन् । देवघाटमा २० दिन अघि जेठी श्रीमतिको मृत्यु भएको थियो । सकृय राजनीतिबाट अलग भएसँगै उनी देवघाटमा बस्न थालेका थिए ।
मंगलबार मात्रै जेठो नविन जर्मनीबाट र कान्छो छोरा ऋषव जापानबाट आउने र बुधबार पार्टी कार्यालय सानेपामा ८ बजे दुई घन्टा राखेर अन्त्येष्टी गरिने ज्वाई धु्रवले जनाए । उनकी माइली श्रीमती पनि देवघाटमै रहेको र कान्छी श्रीमति काठमाण्डौमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्