पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने ‘फेक न्युज’ को विदेशमन्त्रीले गरे खण्डन

एजेन्सी । पाकिस्तानले इरानी अधिकारीलाई उदृत गर्दै इजरायलमाथि आणविक हमला गर्ने इस्लामावादको तयारी भनेर आएको भिडिओ फेक भन्दै कडा शब्दमा खण्डन गरेको छ । पकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको ‘गैरजिम्मेवार’ र बनिबनाउ नक्कली समाचारलाई कडाइका साथ अस्वीकार गरेका छन् ।

समाचारमा एक वरिष्ठ इरानी जनरलले इरानमाथि भएको कुनै पनि आक्रमणको बदला लिन पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने दाबी गरिएको छ।

सोमबार सिनेटमा बोल्दै विदेशमन्त्री डारले बढ्दो क्षेत्रीय तनावको सन्दर्भमा गलत जानकारी फैलाएको र सोही भिडिओलाई आधार बनाएर बेलायती मिडियाले समेत समाचार बनाएको भन्दै आधिकारिकरूपमा खण्डन गरेका हुन् । उनले इजरायल र इरानबीच बढ्दो द्वन्द्वको बीचमा संयम अपनाउन आग्रह गरेका छन् ।
विदेशमन्त्री डारले भने, ‘पाकिस्तानले त्यस्तो कुनै पनि बयान दिएको छैन । यो अत्यन्तै गैरजिम्मेवार र बनावटी दाबी हो । युद्ध कुनै मजाक होइन, पाकिस्तानको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरू पूर्णतया आफ्नो सार्वभौमिकताको आत्मरक्षाको लागि हो । हामीले सन् १९९८ मा भनेका थियौं कि हाम्रा आणविक हतियारहरू आत्मरक्षा र क्षेत्रीय शान्तिका लागि हुन् । हामीले एनपीटीमा हस्ताक्षर गरेका छैनौं किनभने हाम्रो सुरक्षाको लागि विश्वसनीय प्रतिरोध कायम राख्नु आवश्यक छ ।

विदेशमन्त्री डारले इजरायलले इरानमाथि पहिलो हमला गरेको भन्दै इरान शान्ति वार्ताका लागि तयार रहेको बताए । आफूले इरानी समकक्षीसँग वार्ता गर्दा इरान युद्धको पक्षमा नदेखिएको बताए ।

३,असार.२०८२,मंगलवार १०:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्