
काठमाडौं । बहुप्रतिक्षीत संघीय निजामती विधेयक प्रतिनिधिसभाबाट आजै पारित गर्ने कार्यसूची तय गरिएको छ । यद्यपि दिउँसो १ बजेको बैठक केहीबेर बसेपछि रास्वपा सांसदको अवरोधका कारण स्थगित गरिएको छ । आधा घण्टाका लागि स्थगित बैठक अहिलेसम्म सुरू भएको छैन । सभामुख अहिले सचेतकहरूसँग छलफलमा छन् ।
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी संसदीय समितिको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको आइतबारको बैठकमा पेश गरिसकेका छन् ।
मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पहिलो चरणमा ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संघीय निजामती सेवा विधेयक, २०८०’ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने र छलफललगत्तै पारितको प्रस्ताव प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ मा उक्त विधेयक समितिबाट पारित गरेको थियो । २०८१ जेठ १५ को बैठकमा उक्त विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको थियो । २०८१ जेठ २३ मा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त भएको थियो । दफबार छलफल गर्ने क्रममा २०८१ भदौ २० गते पहिलो बैठकमा छलफल सुरू भएको थियो । १३ परिच्छेद र १४७ दफा रहेको उक्त विधेयकमा १२४ वटा दर्ता समूहबाट १३० जना सांसदले १ हजार ५ सय ८३ संशोधन दर्ता भएका थिए ।
प्रतिनिधि सभामा पेश भएको विधेयक कस्तो छ ?
विधेयकमा निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवका भएको मितिले २ वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति नपाउने व्यवस्था गरिएको छ ।
विधेयकमा कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष कायम गरिएको छ । तर, यो ऐन लागू भएको आर्थिक वर्षमा ५८ वर्ष उमेर पुरा हुने निजामती कर्मचारीले ५८ वर्ष उमेर पूरा भएपछि र ऐन प्रारम्भ भएको दोस्रो आर्थिक वर्षमा ५८ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५९ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश जाने छन् ।
यस्तै अधिकृत पन्ध्रौ तहका निजामती कर्मचारी अर्थात मुख्यसचिवको सेवा अवधि २ वर्ष मात्रै राखिएको छ भने अधिकृत चौधौँ तहका निजामती कर्मचारी अर्थात सचिवको सेवा अवधि ४ वर्ष कायम गरिएको छ । तर, यो ऐन लागू हुदाँका बखत सचिव पदमा कार्यरत रहेका निजामती कर्मचारीको हकमा उक्त पदमा नियुक्त हुँदाका बखत कायम रहेको पदावधि अर्थात मुख्यसचिवको हकमा ३ वर्ष र सचिवको हकमा ५ वर्ष सेवा अवधि कायम रहनेछ ।
यस्तै अधिकृत तेह्रौँ अर्थात अतिरिक्त सचिवको व्यवस्था पनि विधेयकमा गरिएको छ । जसमा यो ऐन लागू भएपछि पहिलो पटक अधिकृत तेहौँ तहको दरबन्दी रहने निकाय एकिन गरेर दरबन्दी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका लागि सम्बन्धित मन्त्रालय वा केन्द्रीय स्तरको निकायले यो ऐन लागू भएको २ महिनाभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्ष पेश गरी सक्नुपर्नेछ ।
यसमा दरबन्दी कायम गर्दा वा सिर्जना गर्दा जुन सेवाको समूहीकरण (कलस्टर) अन्तरगत दरबन्दी कायम भएको हो त्यसै समूहीकरण (कलस्टर) अन्तरगतको कम्तीमा त्यति नै संख्यामा अधिकृत चौधौँ तह वा सहसचिवको दरबन्दी कटौती गर्नु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्