भिजिट भिसामा माओवादीसँग सम्झौता भइसक्यो, रास्वपासँग आवश्यक छैन : नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताए। उनले भिजिट भिसा प्रकरणमा माओवादीसंग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।

संसदीय प्रणालीमा मुख्य विपक्षी दल नै मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको उनले बताए ।

त्यस्तै बर्तौलाले रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले नै प्रतिवद्धता जनाइसकेको अवस्थामा नीलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरुले स्टन्ड गर्न खाजेको जिकिर गरे ।

संसदीय पद्धतीलाई ग्रहण गर्न रास्वपा असफल देखिएको उनको भनाइ छ। उनले रास्वपाका सांसदहरुको शैलीले स्वयम रास्वपालाई निल्ने तर्क गरे ।

६,असार.२०८२,शुक्रबार १५:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्