राजनीति ठिक हुने वित्तिकै देशले प्रगति गर्छ : सभामुख घिमिरे
वि.सं.२०८२ भदौ १९ बिहीवार १७:४७
shares

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र नै राजनीति भएको बताएका छन् ।
पूर्वसांसद मञ्चको २६ औँ स्थापना दिवसका अवसरमा बिहीबार संसद् भवनमा आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नति,प्रगति गर्ने बताएका हुन् ।
राजनीति ठिक खालको हुन नसकेमा यसले सबै क्षेत्रलाई प्रभावित पार्ने बताए । नेपालले पनि यो कुरा भोगेर आएको उनको भनाइ छ ।
लामो इतिहासमा विभिन्न ढङ्गबाट बिताएर आएका पूर्व सांसदहरूलाई यसबारेमा अझ बढी ज्ञान भएको उनले बताए ।
उनले भने, ‘देश निर्माण गर्ने सबै भन्दा महत्त्वपूर्ण क्षेत्र भनेको राजनीति नै हो । राजनीति ठिक हुने वित्तिकै देशले उन्नति प्रगति गर्न सक्छ । विज्ञानलाई आफैले वैज्ञानिक ढङ्गबाट प्रयोग गर्न, अन्वेषण गर्न सक्छ र त्यसलाई प्रयोग गर्न सक्छ र अगाडी बढ्न सक्छ । तर राजनीति ठिक खालको हुन सकेन भने सबै क्षेत्र त्यसेले प्रभावित हुन्छ । जुन कुरा हामीले पनि भोगेर आएका छौँ । र मलाई लाग्छ, ७० वर्ष पुगेका र पुग्न लागेका पूर्व माननीयज्यूहरूले त लामो इतिहास विभिन्न ढङ्गबाट बिताएर आउनु भएको छ । मैले यसमा धेरै लामो चर्चा गर्न पर्दैन ।’
पूर्व सांसदहरूले वर्तमान संविधानले राखेका लक्ष्य, संविधान कार्यान्वयन, सरकार निर्माण, संसद्को जिम्मेवारीलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न महत्त्वपूर्ण काम सिकाएको सभामुख घिमिरेले बताए ।



















