मनाइँदै संविधान दिवस, नहुने सैनिक मञ्चमा झाँकी
वि.सं.२०८२ असोज ३ शुक्रवार ०७:०२
shares

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् ।
अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहिनेत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
विसं २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए ।
संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना दिएका छन् ।























