सडकको बील पास गर्न १ लाख घुस माग्ने गाउँपालिकाका लेखा अधिकृत रंगेहात पक्राउ
वि.सं.२०८२ असोज ३ शुक्रवार ११:२४
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई घुससहित पक्राउ गरेको छ ।
गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) कार्कीले घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग थप १ लाख रुपैयाँ घुस मागेका थिए ।
उनले यसअघि नै १ लाख रुपैयाँ घुस/रिसवत लिइसकेकाअवस्थामा उक्त रकमसहित जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं। ९, मंगलगडी चोकबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।























