चुनाव हुनेमा एमालेको शंका, प्रदीप ज्ञवालीले भने, ‘कस्तो र कसरी गर्ने सार्वजनिक गर्नुपर्दछ’
वि.सं.२०८२ असोज ३ शुक्रवार १६:५४
shares

नुवाकोट । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अन्तरिम सरकारले फागुन २१ मा गर्ने भनेको निर्वाचनबारे शंका व्यक्त गरेका छन् ।
पार्टीको नुवाकोट जिल्ला कमिटीले आयोजना गरेको पाँचौ विस्तारित बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले त्यस्तो शंका गरेका हुन् ।
उनले भने, ‘कस्तो र कसरी चुनाव गर्ने भन्ने सार्वजनिक गर्नुपर्दछ, हामीलाई संशय छ ।’
उनले जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनलाई हाइज्याक गरेर नियोजित रुपमा २४ गतेको भयावह घटना गराइएको आरोप लगाए । उक्त घटनालाई निकै गम्भीर र आपराधिक कार्य भन्दै ज्ञवालीले अन्तरिम सरकारको दलहरुप्रतिको धारणा स्पष्ट हुनुपर्ने बताए ।
ज्ञवालीले भने, ‘दलहरूलाई निषेध गरेर चुनाव गर्ने योजना हो ? वा, दलहरूको साथ लिएर चुनाव गर्ने हो ? कित्ता क्लियर गर्न म माग गर्दछु ।’ उनले यो सरकार निर्दलीय ढंगले अघि बढ्न त खोज्दै छैन भन्दै शंका व्यक्त गरे ।
वर्तमान अन्ततिम सरकारलाई गैरसंवैधानिक भन्दै ज्ञवालीले भने, ‘यो सरकारलाई हाम्रो संविधानले चिन्दैन ।’ अहिलेको संविधान संकटमा रहेको भन्दै उनले संविधानले नचिनेको सरकारले चुनाव गराउने भन्नुमा मुख्य शंका रहेको बताए ।
उनले भने, ‘संविधान जोगाउन चुनाव गर्नुपर्ने हुन्छ नै । तर, सैनिक मुख्यालय नजिकैको सर्वोच्च अदालत जल्दा, सिंहदरबार जल्दा, सेनाको परमाधिपति राष्ट्रपतिको कार्यालय जल्दा सुरक्षा गर्न नसक्ने सुरक्षाकर्मीले चुनाव स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ भन्ने संशय देखिन्छ ।’





















