काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले सेवा प्रवाहमा थप सुधार गर्नका...

पुरा पढ्नुहाेस्

डा. मदन प्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बागडोर, कम छैन चुनौती

676
shares
khanepani bord

काठमाडौँ । सुशीला कार्कीको अन्तरिम सरकारमा डा. मदन प्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।

कृषि क्षेत्रमा स्थापित विज्ञका रूपमा चिनिएका डा. परियारको यो नियुक्तिलाई कृषि क्षेत्रका विज्ञहरूले विशेष रूपमा हेरेका छन् ।

डा. मदन प्रसाद परियारको जन्म सन् १९५१ अगस्ट २६ मा भएको हो । हाल नागार्जुन नगरपालिका–१०, स्युचाटारमा बसोबास गर्दै आएका डा. परियारले सन् १९९४ मा थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट वातावरण, स्रोत तथा विकास विषयमा डक्टर अफ इन्जिनियरिङको उपाधि हासिल गरेका छन् ।

सोही संस्थाबाट सन् १९८९ मा उनले मास्टर अफ इन्जिनियरिङको डिग्री लिएका थिए । यसअघि सन् १९७३ मा भारतको इलाहाबाद एग्रिकल्चरल इन्स्टिच्युटबाट कृषि इन्जिनियरिङमा ब्याचलर अफ साइन्स र सन् १९६९ मा इन्टरमिडियट अफ साइन्स इन एग्रिकल्चर पूरा गरेका थिए ।

डा. परियारसँग नेपालसहित भारत, थाइल्यान्ड, श्रीलंकाका गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकायहरूमा ३० वर्षभन्दा बढीको कार्य अनुभव छ । विशेषगरी कृषि, ग्रामीण विकास, सामाजिक समावेशीकरण र जलवायु परिवर्तन क्षेत्रमा उनी गहिरो ज्ञान र अनुभव राख्छन् ।

उनलाई सन् १९९० र १९९८ मा ‘विद्या भूषण ‘क’ र ‘ख’ बाट सम्मानित गरिएको थियो । सन् १९८९ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीले उत्कृष्ट शैक्षिक प्रदर्शनका लागि ‘जेम्स लिनन मेमोरियल प्राइज’ प्रदान गरेको थियो । त्यस्तै सन् १९७२ मा जबलपुर, भारतमा आयोजित इन्डियन सोसाइटी अफ एग्रिकल्चरल इन्जिनियरसको वार्षिक अधिवेशनमा ‘बेस्ट स्टुडेन्ट प्राइज’ बाट समेत उनी सम्मानित भएका थिए ।

डा. परियारले ४१ वटा अनुसन्धान अध्ययन/प्रतिवेदन, ३८ वटा अनुसन्धान पत्र र १४ वटा अध्ययन/प्रतिवेदनहरू प्रकाशित गरिसकेका छन् ।

कृषि मन्त्रालयमा डा. परियारका चुनौतीहरू

एक अनुभवी विज्ञका रूपमा जिम्मेवारी सम्हालेका डा. परियारसामु अब कृषि क्षेत्रका गम्भीर समस्या र चुनौतीहरूको पहाड खडा छ ।पूर्वकृषि मन्त्री, पूर्वकृषि सचिव र मन्त्रालयका कर्मचारीहरूसँग गरेको कुराकानीको आधारमा डा. परियारले सामना गर्नुपर्ने मुख्य चुनौतीहरू यस्ता छन्ः

१. रासायनिक मलको समस्या

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रासायनिक मलको समस्या सधैँको टाउको दुखाइ बनेको छ । मागको तुलनामा आपूर्ति कम हुनु र वितरण प्रणाली वैज्ञानिक नहुँदा कृषिमन्त्रीले प्रत्येक वर्ष किसानको गाली खाने गरेका छन् । डा. परियारले यो चिरपरिचित चुनौतीलाई समाधान गर्नुपर्ने देखिन्छ ।

२. जलवायु परिवर्तन र जमिनको क्षयीकरण

जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा प्रत्यक्ष असर परिरहेको छ । खेतीयोग्य जमिन घट्दै जानु, जमिन बाँझो हुने क्रम बढ्नु र आवासीय प्रयोजनका लागि कृषि भूमिको प्रयोग हुनुले उत्पादनमा ठुलो प्रभाव परेको छ । यस्तै यो पटक मधेसमा खडेरी देखिएको हुने उत्पादनमा कमी र विश्वव्यापी तथ्यांकले समेत धान र मकैजस्ता मुख्य बालीको उत्पादन घट्ने देखाएको छ । यसको सामना परियारले ६ महिनाभित्रै गर्नुपर्नेछ ।

३. माटो र पर्यावरणको विनाश

माटोको गुणस्तर सखाप भएर बिग्रिएको अवस्था छ, जसलाई विज्ञहरूले ‘डेजर्टिफाइड’को संज्ञा दिएका छन् । हालको खेतीपाती गर्ने तरिका निरन्तर कायम रहे अबको ६० वर्षभित्र खेतीयोग्य जमिन नरहने अध्ययनहरूले देखाएका छन् । यसका साथै पानीका स्रोत, परागसेचक किरा, माटोमुनिका लाभदायक किराहरू लगायत प्राकृतिक पर्यावरण नै बर्बाद भएको छ । यसका लागि मन्त्रीहरूले काम गर्न नसकेको आरोप लाग्दै आएकोमा विज्ञ मन्त्रीको रूपमा उनलाई यो अवसर पनि छ ।

४. प्रतिस्पर्धा र बाह्य निर्भरता

भारत र चीनजस्ता विशाल छिमेकी राष्ट्रहरूको बढ्दो प्रतिस्पर्धी उत्पादनले नेपाली बजारमा सस्तो उत्पादन भित्र्याएको छ । यसले नेपाली किसानलाई मर्कामा पारेको छ । साथै रासायनिक मल र बीउबिजनमा अत्यधिक बाह्य निर्भरताले गर्दा कुनै पनि बेला आपूर्तिमा अवरोध आउँदा देशमा ठुलो खाद्य संकट आउन सक्ने जोखिम छ । यो चुनौती उनले हल गर्न सक्लान भन्नेमा प्रश्न छ ।

५. किसानको हकहित

दुध उत्पादक किसानहरूको बक्यौता भुक्तानीमा लामो समयदेखि समस्या हुँदै आएको छ । पटक–पटक किसानहरूले दुधको रकम डीडीसी र निजी डेरीहरूबाट लिन नसकेको भन्दै आन्दोलन गर्दै आएका छन् । यसैगरी, कृषि बिमाका भुक्तानीमा पनि ढिलासुस्ती हुने गरेको छ । मन्त्रालयकै अधिकारीहरू डा. परियारले यो समस्या हल गर्न नसक्ने आकलन गर्छन् ।

६. प्रशासनिक जटिलता

यसअघि मन्त्रालयको नेतृत्व गर्ने अधिकांश राजनीतिक पृष्ठभूमिका मन्त्रीहरूले बारम्बार कर्मचारीको असहयोग भन्दै आएका थिए । तर, डा. परियार एक विज्ञ भएकाले उनलाई यो चुनौती कम हुने मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

एक कर्मचारीले भने, ‘कर्मचारीहरूले मन्त्रीलाई असफल गराउने नियत राख्दैनन्, बरु सफल बनाउने प्रयास गर्छन् । वास्तविक समस्या कानुनी जटिलता, खरिद ऐनसम्बन्धी व्यवधान र भ्रष्टाचारजन्य मुद्दा लाग्ने डरले गर्दा हुने गर्छ, जहाँ कर्मचारीहरूले कानुनअनुसार काम गर्न खोज्दा कहिलेकाहीँ मन्त्रीहरूले फरक बुझ्न पुग्छन् । अहिलेको मन्त्रीले सायद यो कुरा बुझ्छन् भन्ने लाग्छ ।’ सरकारले हालै ‘राष्ट्रिय खाद्य प्रणाली रूपान्तरण रणनीति योजना’ स्वीकृत गरेको छ, जसमा यी सबै विषय समेटिएको छ । डा. परियारले आफ्नो कार्यकालमा यो योजनालाई सफल रूपमा कार्यान्वयन गरे उनको कार्यकालको एउटा महत्त्वपूर्ण उपलब्धि हुने देखिन्छ ।

समता फाउन्डेसन विवादमा थियो विवाद

डा. परियार अहिले पनि समता फाउन्डेन्सको अध्यक्ष छन् । समावेशिता र समताको पैरवी गर्ने उद्देश्य राखेको समता फाउन्डेसनमा आन्तरिक विवाद चर्किएकै बेला उनी विवादास्पद ढंगले अध्यक्ष पदमा चयन भएका थिए । स्थापनाकालदेखि पाँच सदस्यीय सञ्चालक समिति क्रियाशील रहँदै आएको फाउन्डेसनमा चारवर्षे कार्यकाल बाँकी हुँदै उनी अध्यक्ष बनेका थिए ।

बहुमत सञ्चालक सदस्यको असहमति र कानुनी आधारविनै साधारण सभा बोलाएर पाँच सदस्यीय कार्यसमितिलाई अवैधानिक तवरले ८ सदस्यीयमा विस्तार गरेको आरोप उनीमाथि लागेको थियो । फाउन्डेसनका सञ्चालक सदस्यद्वय डा. सुमित्रा मानन्धर गुरुङ र सरिता परियारले साधारण सभा अवैधानिक बताउँदै उच्च अदालतमा रिट समेत दायर गरेका थिए ।

उनीहरूका अनुसार समावेशिताको पैरवी गर्ने फाउन्डेसनको उद्देश्यविपरीत विवादित सञ्चालक समितिमा रहेका आठमध्ये एकै जात र एकै लिंगका पाँच जना पुरुष रहेका थिए ।

khanepani