जेनजी आन्दोलनमा क्षति भएको प्रहरी कार्यालय, जनताको साथले पुनः उठ्यो
वि.सं.२०८२ असोज ७ मंगलवार ०९:२१
shares

भक्तपुर । भदौ २४ गतेको साँझ जेनजी आन्दोलनले थिमीको मुटुमा चोट पुर्यायो। प्रहरी कार्यालयमा आगो दन्कियो, ढोका–झ्याल भत्किए, कागजात र सामग्री खरानी बने।
प्रहरीहरू निराश हुँदै कार्यालय छाड्न बाध्य भए। समाजमा शान्ति–सुरक्षाको आधारस्तम्भ जस्तै देखिने प्रहरी भवन अचानक खण्डहर बनेपछि स्थानीयमा असुरक्षाको छाया गहिरिँदै गयो।
तर मध्यपुर थिमी आसपासका बासिन्दाले लामो समय त्यो खण्डहर हेरेर बस्ने मन बनाएनन्। प्रहरी हाम्रो साथी हो, सुरक्षा बिना समाज अधुरो हुन्छ भन्ने भावनाले उनीहरूलाई एकताबद्ध ग¥यो र प्रहरी कार्यालय पुन स्थापनाको अभियानमा लागे ।
जनप्रतिनिधि, शिक्षक, सामाजिक संस्था, व्यापारीदेखि आम सर्वसाधारणसम्म सबै जुटे। कसैले श्रम दिए, कसैले पैसा, कसैले ढुंगामाटो उठाए। २६५ जनाको हातेमालो र सात लाखभन्दा बढी सहयोग रकमले १२ दिनमै भत्किएको प्रहरी कार्यालय नयाँ रंगमा चम्कियो- पहिलाभन्दा आकर्षक, व्यवस्थित र आत्मविश्वास जगाउने।
स्थानीयको सक्रियतामा विस्थापित भएका प्रहरीहरूलाई खादा माला लगाएर प्रहरीको गिरेको मनोबललाई उच्च बनाइरहेका छन् । स्थानीयले खादा र माला लगाइ प्रहरीलाई भित्र्याउँदा केही दिनअघि उदास मनले कार्यालय छाडेका प्रहरीहरू फेरि मुस्कुराउँदै आफ्नो कोठा–टेबलमा फर्किए।
स्थानीय जनप्रतिनिधि,शैक्षिक संस्था,सामाजिक संघ संस्था र स्थानीयको सक्रियतामा क्षति भएको प्रहरी कार्यालय १२ दिनमा नै पहिलाको भन्दा आकर्षक बनाएर प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
मध्यपुर ठिमी नगरपालिका–२ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ सहित जनप्रतिनिधि र स्थानीयको सक्रियतामा पुनर्निर्माण गरिएको प्रहरी प्रभाग प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
प्रहरी प्रभागका इञ्चार्ज सहित सबै प्रहरीलाई स्थानीयले भव्य स्वागत गरेका थिए । केही दिन प्रहरी नहुँदा समाजमा शान्ति सुरक्षा खल्बलिएको र समाजमा आशान्ति सुरु भएकाले स्थानीयको सक्रियतामा प्रहरी कार्यालय पुनर्स्थापना गरेर प्रहरीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष श्रेष्ठले जनकारी दिए ।
छोटो समयमा नै स्थानीयको सक्रियतामा पहिलाको भन्दा राम्रो कार्यालय बनाएर हामीलाई हस्तान्तरण गर्नुभएको छ,प्रहरीको मनोबल उच्च बनाउन उहाँहरूको योगदान सम्झनायोग्य छ,क्षतिग्रस्त प्रहरी कार्यालय पुनर्निर्माण भएपछि कार्यालयको साँचो बुझ्दै प्रहरी प्रभागका इञ्चार्ज प्रकाश बगालेले भने ।
मध्यपुर थिमी नगरपालिका भित्रका २६५ व्यक्ति,संघ संस्थाको सक्रियतामा ७ लाख ६१ हजार ७८६ रुपियाँ नगद सहित अन्य जिन्सी सामग्रीहरूको सहयोग प्राप्त भएको र त्यही सहयोगबाट प्रहरी कार्यालय पुनर्निर्माण गरिएको प्रहरी कार्यालय पुनर्निर्माण तथा पुनर्स्थापना कमिटीका संयोजक उत्तम फुयाँलले जानकारी दिए । यो भवनले केवल प्रहरीलाई मात्र होइन, समाजको एकतालाई पनि प्रतिनिधित्व गर्छ। हामी सबै मिलेर असम्भव देखिएको काम सम्भव पार्न सकिन्छ भन्ने उदाहरण हो संयोजक फुयाँलले भने ।
सबैको सहयोगमा छोटो समयमा नै प्रहरी कार्यालय पुनर्स्थापना गरेर प्रहरीलाई कार्यालयमा ल्याउन आफूहरू सफल भएको फुयाँलले जनकारी दिए । प्रहरी प्रभाग सानोठिमी, प्रहरी पोष्ट सानोठिमी र अस्थायी प्रहरी पोष्ट समेत पुनर्निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिएको छ । स्थानीयको सक्रियतामा पुनर्निर्माण भइरहेको प्रहरी वृत्त ठिमी पनि केही दिन भित्रै प्रहरीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

























