काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

‘वैचारिक र चिन्तनगत रूपमा हामी सँगै हिंड्न सकेनौं र उहाँहरूलाई प्रतिस्थापन गर्न पनि सकिएन’

1.79K
shares
khanepani bord

बुधबार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी ८ कम्युनिष्ट समूहहरूले एकता घोषणा गर्दैछन् । यसैको नेतृत्व गर्ने एउटा घटना माओवादी केन्द्रमा ४ दशकभन्दा बढी समय काम गरेका पूर्व उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगायतले मंगलबार एकतामा सहभागी नहुने भन्दै प्रगतिशील अभियान घोषणा गरेका छन् ।


आज तपाईंहरूले नयाँ पार्टी बनाउने उद्देश्यसहित प्रगतिशील अभियान घोषणा गर्नुभयो । यसको मार्गदर्शक सिद्धान्त के हो ?

आजसम्मको ज्ञानको इतिहासमा उत्पीडित समुदाय र वर्गका लागि सबैभन्दा भरपर्दो र उपयोगी हतियार भनेको मार्क्सवाद नै हो। मार्क्सवादको विभिन्न ढंगले संसारभरि व्याख्या र व्यवहारिक प्रयोग भएका छन्।

३३ कोटी देवता माने जस्तो अथवा एकेश्वरवादी माने जस्तो एउटा ईश्वरको पूजा गर्ने कुरालाई छोड्नुपर्छ । हामीले लेनिन सँगसँगै रोजालक्जेम्बर्गबाट पनि शिक्षा लिन्छौं । किनभने लेनिनको सन्दर्भ र रोजाको सन्दर्भ फरक-फरक थियो।

लेनिन असाध्यै क्रुर तानाशाही शासनमा भएको देशमा काम गरिरहेका थिए भने रोजा संसदीय प्रजातन्त्र भएको समाजमा सक्रिय थिइन्। दुवैका सन्दर्भ फरक भए पनि दुवै उपयोगी छन्। त्यसैले हामीले यी सन्दर्भहरूबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ।

तर आधारभूत रूपमा मार्क्सवाद नै त्यो हतियार हो, त्यसले मात्रै भोकाहरुलाई वाणी दिएको छ।

यो कम्युनिष्ट पार्टी हो वा समाजवादी पार्टी ?

समाजवाद शब्द मार्क्सले प्रयोग गर्नु भएको छैन। उनले साम्यवादको दुइटा चरण भनेका छन् । प्राथमिक चरण भनेको समाजवाद र विकसित चरण साम्यवाद भनेर सैद्धान्तीकरण गरेका उनका उत्तराधीकारी लेनिनले गरे ।

त्यसपछि संसारभरि समाजवादलाई साम्यवाद पुग्ने एउटा चरणको रूपमा स्वीकार गरिएको छ। यसरी, समाजवाद र साम्यवादको बीचमा विरोधाभाष छैन । समाजवाद नै साम्यवादतिरको यात्रा हो।

यो पार्टीमा माओवादीहरू मात्रै अट्ने हुन् कि वामपन्थीहरू लगायत अरू पनि अट्छन् ?

अहिले विभिन्न समूहमा छरिएका, कुनै समूहमा नरहेका, देशभक्त र प्रगतिशील विचार भएका सबै व्यक्तिहरू एक ठाउँमा आउनुपर्छ। उनीहरूले यो अभियानमा सामेल भएर पार्टी निर्माणको बाटोमा लाग्नुपर्छ। त्यो पार्टी निर्माणमा युवाहरूले नै अगुवाइ गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।

त्यसो भए तपाईंहरूको नेतृत्वमा बन्ने पार्टीमा जेनजी पुस्ताका युवाहरू पनि समेटिन्छन् ?

सबैजना स्पष्ट हुनुपर्ने कुरा, यो हामीले निर्देशन दिने पार्टी होइन, सबै मिलेर बनाउने हो। यसमा हाम्रो अभिज्ञता र अनुभवको पनि उपयोग होस्। तर कार्यकारी भूमिकामा युवाहरू अगाडि आउनुपर्छ ।

तपाईंहरूको भूमिका सहजीकरण गर्ने मात्र हो, नेतृत्व युवाहरूले गर्ने हो ?

हो, हामीले यो अभियानको सुरुवात गरेका हौं। हाम्रो अभिष्ट बढीभन्दा बढी युवालाई सहभागी गराउने र उनीहरूलाई नेतृत्वमा ल्याउने हो। त्यो भनेको कार्यकारी ठाउँमा युवाहरू रहून् । तर अनुभव र अभिज्ञता भएका केही पुराना पुस्ताका साथीहरू पनि सल्लाहकार वा शिक्षकको भूमिकामा रहनेछन्।

हाम्रो अवधारणा अनुसार, २० प्रतिशत अनुभवी भेटरान नेताहरू, ४० प्रतिशत उमेर समूह ३०–६० वर्ष बीचका, २० प्रतिशत उमेर २०–३० का युवा र २० प्रतिशत लोपोन्मुख वा पछाडि परेका समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था गर्न सकिन्छ। त्यस्तो नेतृत्व र संगठन बनोस् भन्ने हाम्रो अभिलाशा हो । यसो भनेर हामीले तोकिसकेको होइन, हाम्रो चाहना यस्तो हुनुपर्छ भन्ने हो ।

यो पार्टी प्रचण्ड र माधव नेपालले बनाउन लागेको पार्टीभन्दा के फरक हुनेछ ?

पहिलो, यो कुनै एक नेताको पौरखमा चल्ने पार्टी हुने छैन। यो नै मौलिक अन्तर हो । यो सामूहिक नेतृत्वमा चल्दछ ।

दोस्रो, उहाँहरू यथास्थितिको रक्षामा लाग्नुभएको छ । अहिलेकै संविधान, गणतन्त्र, नीति, बजेट, कार्यक्रम र कार्यशैलीलाई निरन्तरता दिने पक्षमा छन्। तर हामी निशस्त्र तर जुझारु संघर्षमार्फत अहिलेको प्रणालीलाई प्रतिस्थापन गर्दै जानेछौं । जस्तो, शिक्षादेखि कृषि, उद्योग र जनस्वास्थ्यसम्मका सबै नीतिहरूलाई रूपान्तरण गर्दै समाजवादी संरचनातिर जाने पक्षमा छौं।

मुख्य लक्ष्य भनेको विश्व पुँजीवादको जञ्जालबाट नेपाललाई मुक्त गर्दै स्वतन्त्र र पारदर्शी जनमुखी लोकतान्त्रिक राजनीति निर्माण गर्नु हो। हाम्रो प्राथमिकता हामीले निश्चित गर्न सक्ने अर्थव्यवस्थासँगै एउटा सफा, सुग्घर र पारदर्शी लोकतान्त्रिक राजनीतिमा अगाडि बढौं जहाँ जनवादको अभ्यास भएको होस् ।

त्यो भनेको एजेन्डामा आमूल परिवर्तनकारी र प्रक्रियामा लोकतान्त्रिक ?

निशस्त्र तर जुझारु संगठन बनाउने भनेका छौं । हामी जनताको सर्वोपरितालाई स्वीकार गर्छौं । यसलाई कबुल गर्ने अवयवहरू जस्तै- मतदान दिने अधिकार, प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रतालाई पूर्ण रूपमा उपयोग गर्दै अघि बढ्ने बाटो नै अहिलेको नेपालको लागि सही हुन्छ भन्ने हामीलाई लाग्छ ।

तपाईंहरूले नयाँ पार्टीका लागि अन्य नेताहरू वा समूहहरूसँग छलफल गरेर केही पृष्ठभूमि तयार गरिसक्नुभएको छ? तत्काल मोर्चा बनाउने वा ध्रुवीकरण गर्ने गरी गृहकार्य भइसकेका छन् र ?

हामी एकदम खुला ढंगले अघि आएका छौं। कुनै गोप्य सम्झौता वा सट्याकसुटुक गर्दैनौं । हामीले खुला आह्वान गरेका छौं । बुद्धिजीवी, विशेषज्ञ, विद्यार्थी, महिला र युवाहरू सबैसँग खुला छलफल-बहस अब सुरु गर्दैछौं।

चुनाव नजिकिँदै छ, त्यसमा पनि भाग लिनुहुन्छ ?

स्वाभाविक रूपमा । जब सबै साथीहरू एक ठाउँमा आउँछन्, त्यसपछि त्यो निर्णय सामूहिक रूपमा हुनेछ। अहिले नै हामी सबैकुरा पूर्वानुमान गर्ने र एकल निर्णय गर्दैनौं ।

हामीले लामो समयसम्म सहकार्य गर्‍यौं । व्यक्तिगत रूपमा कुनै द्वेष र नराम्रो भावना छैन। उहाँहरूको स्वास्थ्य राम्रो रहोस् भन्ने कामना गर्छौं। तर वैचारिक र चिन्तनगत रूपमा हामी सँगै हिंड्न सकेनौं र उहाँहरूलाई प्रतिस्थापन गर्न पनि सकिएन ।

यसरी उहाँहरूले मार्क्सवाद छाडेर विचलित हुँदा, मनलागी जाँदा पनि न त उहाँहरूलाई फेर्न सकियो न त प्रतिस्थापन नै गर्न सकियो। यी कमजोरीहरू हामी स्वीकार्छौं ।

khanepani