महाधिवेशन प्रतिनिधिको कार्यकाल सकिएको छैन, चुनावअघि विकल्प छैन : अर्जुननरसिंह केसी
वि.सं.२०८२ कात्तिक २० बिहीवार १६:०४
shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै महाधिवेशन प्रतिनिधिहरुको कार्यकाल नसकिएको जिकिर गरे।
बैठकमा केसीले राखेको भनाइ जस्ताको तस्तैः
पार्टी केन्द्रीय कार्यसमितिमा महामन्त्रीजीबाट आगामी पौष १६–१९ को लागि र सहमहामन्त्रीजीबाट निर्वाचनपछि बैशाख २७–३० को प्रस्ताव प्रस्तुत भएको छ। आजको वस्तुगत परिस्थितिलाई आग्रह–पूर्वाग्रह विहिन भएर सोचौं । यथास्थितिमा निर्वाचनको कुरा गर्नु घातक हुन्छ । आमजनता र कार्यकर्ता साथीहरूको भावनालाई लत्याउने काम नगरौं ।
यदि नियमित महाधिवेशन नगर्ने हो भने, ५४ प्रतिशत सदस्यको विशेष महाधिवेशनको सामुहिक मागलाई न्यायोचित सम्वोधन गर्नु केन्द्रीय कार्यसमितिको अनिवार्य वैधानिक दायित्व हो । महाधिवेशनको समयावधि सिद्धियो भन्ने कुरा पनि सुनिन्छ । त्यसबाट निर्वाचित यो केन्द्रीय कार्यसमिति कुन आधारमा जिवित छ ? अर्को महाधिवेशन नहुञ्जेलसम्म यो जिवित रहन्छ भन्ने हेक्का राख्नु जरुरी छ । आगामी चुनावको बारेमा र मुलुकको पेचिलो परिस्थितिमा काँग्रेसको अबको मार्गचित्रसार्वजनिक गर्न पार्टीको नियमित वा विशेष महाधिवेशनको अनिवार्य आवश्यकता छ ।
चुनावको मिति आउन आजबाट १२१ दिन मात्र बाँकी छ । तर घोषित निर्वाचन निर्धारित मितिमा हुने सुनिश्चितता देखिएको छैन । सरकारी खजानाबाट ५०० भन्दा धेरै थान हतियार लुटिएको छ । शान्ति–सुरक्षाको प्रत्याभूति बिना निर्वाचन सम्भव छैन । तर नेपाली काँग्रेस नयाँ सोच, नयाँ नीतिका साथ आजको परिस्थितिप्रति पश्चाताप र क्षमायाचना गर्दै घोषित मितिको निर्वाचनमा केन्द्रित हुनु जरुरी छ । लोकतान्त्रिक विधि र प्रक्रियापूर्वक चुनाव नहुने हो भने फागुन २१ पछि आईलाग्ने परिस्थिति हालको भन्दा खराब हुनसक्छ । त्यो अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापनाको औचित्य अनि शुरू हुन्छ । अहिले हाम्रो एक सूत्रीय कार्यक्रम निर्वाचन हो, यसमा विवाद छैन । सरकारको प्रमुख दायित्व भनेको सबै पक्ष, राजनीतिक दल र आम नागरिकको विश्वास हासिल गर्दै शान्ति सुरक्षा को प्रत्याभूति साथ तोकिएको मितिमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गर्ने हो ।
आजको यस्थास्थिति र पुरानै को निरन्तरताको अतिवादी सोच हामीमा देखिएको छ ।यो भाद्र २३–२४ पछिको परिवर्तन माथिको उपेक्षा हुन्छ। तसर्थ कहिँबाट आउने अतिवादी सोच भन्दा माथि उठेर आमजनता र कार्यकर्तालाई सम्वोधन गर्न नियमित महाधिवेशन वा सहमतिमा एकताबद्ध विशेष महाधिवेशनको विकल्प म देख्दिन । नीति, नेतृत्व, विधि प्रकृयामा आमूल सुधारसहित पार्टीमात्र होइन समग्र देशको अस्मिता र अखण्डतामाथि देखापर्न थालेको चुनौतीलाई काँग्रेसले सामना गर्ने नयाँ जीवन दिन साहसिलो, गहकिलो, दूरदर्शी र पार्टीभित्र सम्पूर्ण एकता र मेलमिलापको बाटो अख्तियार गर्नु आज हामीमाथिको चुनौती हो ।
निर्वाचन अगावै सरोकारवालासर्वदलीय सर्वपक्षीय र जेनजी समुह लगायत राष्ट्रिय शक्तिहरूबीच गोलमेच संवादको आवश्यकता दिनानुदिन टड्कारो हुँदैछ । निषेध, घृणा र पूर्वाग्रहका आधारमा अब कुनै पनि राष्ट्रिय शक्तिलाई उपेक्षा वा बञ्चित नगरी काँग्रेसकै नेतृत्व र अग्रसरतामा सबै अटाउने फराकिलो राष्ट्रिय मिलापको वातावरण निर्माण गर्नुपर्छ । हामी आफैंभित्र अल्मलिएको र नयाँ दिशाबाट अघि बढ्ने काममा ढिलासुस्ती गर्नु हुँदैन । २०४६ सालदेखि आजसम्म तीनपटक (२०४६, २०६३–२०७२, २०८२) अन्तरिमकाल भोगिसकिएको, र हालको संविधानले अन्तरिम काललाई नचिनेको स्थिति वैधानिक बाटोको सुखद विशेषता होइन । यो लोकतन्त्र र संविधानवादमाथि प्रहारको पहिलो खुडकिलो हो ।



















