प्रतिनिधिसभाको पुनर्स्थापनाले वर्तमान संकटको निकास दिँदैन : विमलेन्द्र निधि
वि.सं.२०८२ कात्तिक २४ सोमवार १३:४३
shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभाको पुनर्स्थापनाले वर्तमान संकटको निकास नदिने बताएका छन् । निधिले निर्वाचनले मात्रै संकटको निकास दिने भन्दै पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने निर्णय गर्नुपर्ने बताए ।
‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना भयो भने अङ्क गणितले फेरि गठबन्धनकै सृजना गर्ने अवस्था हुन्छ । यस्तो गठबन्धन जसले देशमा राजनीतिक दुर्घटना रोक्न सकेन, त्यस्तो गठबन्धनकै सरकार निर्माण गर्ने खालको प्रतिनिधिसभा पुनर्स्थापनाले कुनै समाधान दिँदैन,’ निधिले भने, ‘त्यसैले फागुन २१ गतेका लागि निर्धारित निर्वाचनमै भाग लिने नेपाली कांग्रेसले निर्णय गर्नुपर्छ ।’
निधिले पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान चलाइनु अपरिपक्व र अदूरदर्शी निर्णय भएकोले त्यस्तो काममा कोही पनि लाग्न नहुने बताए ।
‘समाचारहरूबाट मैले सुनेको छु नेपाली कांग्रेसभित्र पनि बाहिर पनि पुनर्स्थापनाको लागि हस्ताक्षर अभियान चलाइएको छ,’ निधिले भने, ‘यो विल्कुल अपरिपक्व र अदूरदर्शी निर्णय भएकोले यस्तो गलत काममा कोही पनि लाग्न हुँदैन भन्ने मरो धारणा हो ।’
कांग्रेसमा निवर्तमान प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि शनिबार साँझबाट हस्ताक्षर सुरु भएको छ ।
हस्ताक्षर सङ्कलनको इतर समूहका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा समूहले विरोध गरिसकेको छ । यही सन्दर्भमा संस्थापन समूहकै नेता निधिले पनि हस्ताक्षर सङ्कलनको विरोध गरेका हुन् ।



















