प्रहरी वृत्त बानेश्वरमा आगजनी गर्ने युवक पक्राउ
वि.सं.२०८२ कात्तिक २४ सोमवार २१:१९
shares

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारीसाधनमा तोडफोड, आगजनी, हातहतियार लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति सिराहा नगरपालिका–४ का २२ वर्षीय सेख सिद्धिकी हुन्, जो हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगरमा बस्दै आएका थिए। उनलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
प्रहरीले सिद्धिकी बस्ने कोठामा खानतलासी गर्दा ग्यास गनका दुई वटा सेल बरामद गरेको बताए। सिद्धिकीमाथि आपराधिक उपद्रव तथा हातहतियार र खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको र काठमाडौं जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, तोडफोड र आगजनीमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान र खोजी कार्य जारी छ।




















