सहमतिबाट निकास ननिस्किए केन्द्रदेखि वडासम्मका समिति विघटन गरौँ : बलबहादुर केसी
वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:१२
shares

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले वर्तमान केन्द्रीय कार्यसमिति बैठकले सहमतिबाट हाल देखिएको समस्याको समाधान निकाल्न नसके केन्द्रदेखि वडासम्मका सबै समिति विघटन गर्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै नेता केसीले निकास निकाल्न नसक्ने समितिको काम नभएको बताए ।
‘कार्यसमितिले सहमतिबाट निकास निकाल्न सक्दैन भने यसलाई राख्नुको के काम ?,’ केसीले भने, ‘केही गर्दा पनि पार्टी चल्दैन भने मेरो प्रस्ताव छ, केन्द्रदेखि वडासम्म सबै संरचना विघटन गरौँ ।’
केसीले पार्टीको सङ्कट समाधानका लागि महाधिवेशन अन्तिम विकल्प भएको बताए । उनले वर्तमान कार्यसमितिले निकास दिन नसके निर्वाचन गराउने नैतिक अधिकारसमेत गुमाउने उल्लेख गर्दै आफ्नो प्रस्तावलाई पार्टीको पुनर्जीवनका लागि आवश्यक ‘थेरापी’ भएको बताए ।
पार्टीभित्रको गुटगत राजनीति चरम अवस्थामा पुगेको र सामान्य प्रक्रियाबाट समाधान खोज्ने अवस्था नरहेको उनको भनाइ थियो ।अबको महाधिवेशनलाई शक्ति प्रदर्शनको थलो नबनाएर पार्टीको भविष्यबारे गम्भीर चिन्तन गर्ने चौतारी बनाउनुपर्ने प्रस्ताव केसीको छ ।
केसीले संस्थापन र इतर दुवै समूहका नेतृत्वमा रहेका नेताहरूको आलोचना गरे । इतर समूहका नेताहरू डा.शेखर कोइराला र गगन थापालाई एक हुन नसके संस्थापन पक्षसँग लड्ने तागत नै नहुने बताए ।
‘शेखरजी र गगनजी पहिला मिल्नुपर्यो, अनि मात्र तागतसहित संस्थापन पक्षसँग दरो कुरा राख्न सकिन्छ,’ केसीले भने, ‘संस्थापन पक्ष त्यसै त खेल्न सिपालु छ, कहिले गगनलाई लिइदिन्छ, कहिले शेखरलाई । शेरबहादुरजी नबोली–नबोली सबैलाई सिद्ध्याइदिने नेताभित्र पर्नुहुन्छ ।’
देउवाले पार्टीलाई सहमतिको आधारमा नभई गुटगत स्वार्थमा चलाएको आरोप केसीले लगाए ।
पार्टीभित्र एकताको वातावरण बनाउन महाधिवेशन अघि अनुशासनको कारबाहीमा परेका सबै नेता–कार्यकर्तालाई आममाफी दिनुपर्ने केसीको माग छ ।



















