मतदाता नामावली र राष्ट्रिय परिचयपत्र प्रणाली एकीकृत, अनलाइन सेवा सुरु
वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:३०
shares

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रणालीलाई अब राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली सँग जोडेर सञ्चालनमा ल्याएको छ।
आज एक विशेष समारोहमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त सेवाको औपचारिक शुभारम्भ गरेका िथए। कार्यक्रममा निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, सचिव महादेव पन्थ तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।
नयाँ प्रणाली लागू भएपछि अब मतदाता नामावलीमा दर्ता गर्न चाहने व्यक्तिले आयोगको वेबसाइटमार्फत आफ्नै राष्ट्रिय परिचय पत्र नम्बर र जन्ममिति प्रविष्ट गरेपछि, परिचयपत्र प्रणालीमा रहेको व्यक्तिगत तथा जैविक विवरण स्वचालित रूपमा प्राप्त गर्न सक्नेछन्।
आयोगका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार, यस व्यवस्थाले राष्ट्रिय परिचय पत्र भएका सेवाग्राहीलाई फोटो र औंठाछापका लागि निर्वाचन कार्यालय धाउनुपर्ने आवश्यकता हटाएको छ।
उनीहरूले घरमै बस्दै अनलाइन माध्यमबाट सेवा लिन सक्नेछन्। तर, राष्ट्रिय परिचय पत्र नभएका नागरिकले भने अनलाइन आवेदन भरेर तोकिएको मितिमा सम्बन्धित कार्यालय पुगेर फोटो र औंठाछाप दिई दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।
निर्वाचन आयोगका अनुसार, नयाँ प्रणालीले कार्तिक ३० गतेसम्म चल्ने मतदाता नामावली दर्ता अवधिभित्र सेवाग्राहीलाई सहज पहुँच दिलाउनेछ र कार्यालयमा हुने भीड पनि घटाउने अपेक्षा गरिएको छ।
आयोगले पहिले नै मतदाता नामावलीमा दर्ता भइसकेका व्यक्तिहरूलाई पुनः आवेदन नगर्न आग्रह गरेको छ।




















