दमौली–डुम्रे मार्गमा दुर्घटना युवकको मृत्यु, चालक घाइते
वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:५७
shares

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ, भने एक जना घाइते भएका छन्।
बिहीबार दिउँसो करिब ३ः३५ बजे दमौलीबाट डुम्रेतर्फ गइरहेको ग २३ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पृथ्वी राजमार्गमै दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार व्यास–१ भादगाउँका १९ वर्षीय जगत बाँचे मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिएका छन्।
टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्याइएको थियो, तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।
मोटरसाइकल चालक व्यास–१ का २० वर्षीय निजिन मल्ल घाइते भएका छन् र हाल उनको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।




















