फागुन २१ को निर्वाचन प्रतिक्रान्तिलाई वैधानिकता दिने हनी ट्र्याप हो: बादल
वि.सं.२०८२ कात्तिक २९ शनिवार १७:३५
shares

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले फागुन २१ गते घोषित निर्वाचनलाई प्रतिक्रान्तिलाई वैधानिकता दिने र दलहरुलाई विस्थापित गर्ने हनी ट्र्याप भएको दाबी गरेका छन् ।
आज चितवनमा नेकपा एमालेले गरेको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले भने, ‘फागुन २१ को निर्वाचन प्रतिक्रान्तिलाई पूर्णता र वैधानिकता दिनको निम्ति गराउने निर्वाचन हो । यो सामान्य निर्वाचन होइन । संसदीय निर्वाचन जस्तो निर्वाचन होइन । साम्राज्यवादीहरुले आफ्नो दलालहरुलाई स्थापित गर्ने र प्रतिक्रान्तिलाई पूर्णता दिने र प्रतिक्रान्तिको सरकारलाई स्थायित्व दिने नौटङ्की हो । यो एउटा हनी ट्र्याप हो ।’
उनले फागुन २१ को निर्वाचनमा नेकपा एमाले नपरेको र पर्नु नहुने पनि बताएका थिए । पश्चिमा साम्राज्यवादीहरुले नेपालका जनमत भएका दलहरुलाई सिध्याएर साम्राज्यवादीका दलालाहरुलाई स्थापित गर्ने रणनीति अनुसार निर्वाचन घोषणा गरिएके र फागुन २१ अघि दलका नेता र दलहरु सिध्याउन नसके सुशीला कार्की नेतृत्वको सरकार पनि हटाइने उनको दाबी थियो ।
दलहरु हटाउने निर्देशन सुशीला कार्कीलाई दिइएको छ । उनले फागुन २१ अघि दलहरु सिध्याउन सकिनन् भने उनलाई हटाइदिन्छन्,’ बादलले थपे,‘र म गर्छु भन्ने दलाललाई स्थापित गरिदिन्छन्,अर्को अन्तरिम अस्थायी सरकार बनाउँछन् ।
दलहरुले आत्मसमपर्ण गरे भने चुनाव हुन दिने नभए नदिने रणनीति रहेको पनि उनको दाबी छ । आत्मसमर्पणलाई व्याख्या गर्दै बादलले थपे, नेपालमा पश्चिमाको सैनिक अड्डा बनाउन दिने, त्यस्ता राजनीतिक निर्णय गर्ने जुन पश्चिमी शक्तिहरुको हितमा हुन्छ त्यस्तो निर्णय गर्ने हो भने उनीहरुको निर्देशनलाई दलहरुले माने फागुनमा निर्वाचन हुन्छ र मानेनन् भने चुनाव हुँदैन ।’
उनले नेकपा एमाले पश्चिमा स्थापित गराउने हनी ट्र्यापमा नपरेको दाबी गर्दै बादलले नेकपा एमाले कसैको निर्देशनमा नचली संसदको पुर्नस्थापनामार्फत राष्ट्रको स्वाधीनता र आत्मनिर्णयको अधिकार तथा लोकतन्त्रलाई सुरक्षित गर्न लागेको दाबी पनि गरेका छन् ।
उनले अहिलेको रक्तक्रान्तिको रङ दिएर सत्ता उल्ट्याउन गरिएको आन्दोलनलाई राजनीतिक तरिकाले विश्लेषण गर्दा नेपालमा सैनिक अड्डा जमाएर भारत र चीनमा विखण्डन मच्चाउने योजना भएको दाबी समेत गरेका थिए ।
अहिले पुष्टि गर्न नसकिएपनि समयले पुष्टि गर्ने भन्दै बादलले भने, ‘पश्चिमा साम्राज्यवादीले आफ्नो स्वार्थ पूर्ति गर्नको लागि यो आन्दोलन मचएका हुन् । महाशक्तिहरुको स्वर्थ निश्चित बजारको कब्जा गर्ने, खनिज स्रोतलाई कब्जा गरेर अकुत सम्पत्ति कमाउने छ । यो कठपुतली सरकार, दलाल सरकारमार्फत सैनिक अड्डा कायम गरेर स्रोतमा कब्जा जमाउन चाहन्छन् ।’
उनले नेपालमा पश्चिमी देहरुले दलाल सरकार कायम गर्ने, सैनिक अड्डा कायम गर्ने र यहाँको जलस्रोत कब्जा गर्ने, युरोनियम तथा खनिज तत्वहरुमा कब्जा गर्न एउटा रणनीति र नेपाललाई कब्जा गरेर उत्तर र दक्षिणमा तीन अरबको बजार कब्जा गर्न चाहने दाबी गरे ।
त्यसैगरि बादलले संविधान मिचेर बनाइएको सुशीला कार्कीको सरकारमार्फत दलाल शक्तिलाई स्थापित गरेर चीन र भारतमा अस्थिरता मच्चाउने रणनीतिमा लागेको बताउँदै थपे, ‘चीनमा पश्चिमी शक्तिहरुले आन्दोलन चलाएर तिब्बत, सिन्ज्यानलाई चीनबाट अलग गराउने र पञ्जब, नर्थ इष्ट, आन्द्र प्रदेश लगायतलाई ३० वटा राज्यमा अलग गर्ने षड्यन्त्र अनुरुप नेपालमा सैन्य अड्डा बनाउन यो प्रतिक्रान्ति घटाएको हो ।



















