नेतृत्व विकास अवरोध हुने प्रावधानबारे खुला बोल्नु मेरो थियो पेशागत कर्तव्य
काठमाडौँलगायत विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा संविधानसभा निर्वाचन, २०७२ को विनाशकारी भूकम्प, अप्रत्याशित नाकाबन्दी, संविधान घोषणा जस्ता कठिन परिस्थितिमा प्रशासनिक नेतृत्व सम्हाल्ने अवसर प्राप्त भयो ।
वि.सं.२०८२ मंसिर ९ मंगलवार २०:१२
shares

आजको यो क्षण मेरो जीवनको अत्यन्तै भावुक, गर्भीलो र निर्णायक मोडको रूपमा अनुभूत भएको छ । करिब साढे तीन दशकअघि २०४६ साल माघ १० गते सुब्बाको रूपमा निजामती सेवामा प्रवेश गर्दा मैले बिदाइको दिन निजामती सेवाको सर्वोच्च पदमा रहेर बिदा हुने क्षण आउला भन्ने कल्पना पनि गरेको थिइनँ । त्यतिबेला मेरो मनमा एउटा मात्र भावना थियो, देश र नागरिकप्रति इमान्दार राष्ट्रसेवक भएर जिम्मेवारी पूरा गर्ने ।
मुख्यसचिवको जिम्मेवारीबाट बिदा हुँदै गर्दा मैले आफ्नो सम्पूर्ण जीवनयात्रालाई एक पटक पछाडि फर्केर हेर्दै छु । आरोह–अवरोह, हाँसो–आँसु, चुनौती र सम्भावना, उपलब्धि, यी सबैलाई सम्झँदा एउटा कुरा आत्मविश्वासका साथ भन्न सक्छु, मैले सधैँ मेरो पदको जिम्मेवारी र अधिकारको सीमाभित्र रहेर देश र जनताको हितमा जे गर्नुपर्ने थियो, त्यसैअनुसार इमान्दारिता, ऊर्जा, ज्ञान र बुद्धिका साथ काम गरेको छु ।
निजामती सेवाले मलाई धेरै कुरा सिकाएको छ, जिम्मेवारी, सम्मान, चुनौती र जीवनको अर्थ । निजामती सेवाको हरेक पदीय दायित्व र जिम्मेवारीमा सेवा गर्न पाउनुमा मलाई गर्व छ । यसले मलाई विभिन्न भूमिका, स्वरूप र आयामलाई नजिकबाट बुझ्ने प्रत्यक्ष अवसर दिएको छ ।
विशेष गरी प्रविधिमार्फत सेवा प्रवाह, सार्वजनिक प्रशासनमा सुधार, जनसन्तुष्टि वृद्धि, विपद्का बेला सक्रिय भूमिका, संघीय समन्वयका विविध तहमा काम, सुरक्षा व्यवस्थापन, विकासका क्रियाकलापमा सहजीकरण, ‘पोलिसी ल्याब’ जस्ता नयाँ अवधारणाको शुरुवात, आर्थिक मितव्ययिता, नीति–कानुनमा आवश्यक सुधार, कार्यान्वयनसँगको दूरी घटाउने प्रयास, पारदर्शिता र जबाफदेहिताको प्रवर्द्धन, राष्ट्रिय प्राथमिकतामा केन्द्रित प्रशासनिक संयन्त्र निर्माण । यी सबै कार्यमा सहभागी हुन पाउनु मेरा लागि जीवनपर्यन्त स्मरणीय अनुभव बनेका छन् । अबको निजामती नेतृत्वले यिनै आधारलाई ‘गाइडलाइन’ बनाएर अघि बढ्नुपर्ने विश्वास म राख्दछु ।
तल्लो तहदेखि नेपाल सरकारको प्रमुख प्रशासनिक नेतृत्वसम्म जिम्मेवारी सम्हाल्दा राजनीतिक नेतृत्व र प्रशासनबीचको सेतुको भूमिकामा रहँदा विविध अभ्यास, अनुभव र अवसरहरूले मेरो जीवनलाई राष्ट्रिय जीवनसँग गहिरोसँग जोड्ने अवसर प्रदान गरेको अनुभव मैले गरेको छु । फ्रन्टलाइन अफिसमा प्रत्यक्ष सेवाग्राहीसँग काम गर्ने मौका पाइयो ।
विभिन्न मन्त्रालयमा नीतिगत काममा सहजीकरण गरियो । परराष्ट्र, व्यापार र आर्थिक कूटनीतिमा योगदान पुर्याउन पाएको छु ।
काठमाडौँलगायत विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा संविधानसभा निर्वाचन, २०७२ को विनाशकारी भूकम्प, अप्रत्याशित नाकाबन्दी, संविधान घोषणा जस्ता कठिन परिस्थितिमा प्रशासनिक नेतृत्व सम्हाल्ने अवसर प्राप्त भयो ।
नेपाल–भारतबीचको दुईपक्षीय व्यापार सहजीकरण प्रणालीको सुरुवात, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम रोजगार मन्त्रालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय । यी सबै तहमा गरिएको जिम्मेवारी अन्ततः मुख्यसचिवको रूपमा नीतिगत र प्रशासनिक नेतृत्वमा परिणत भयो ।
भदौ २३–२४ को जेनजी आन्दोलनका चुनौतीपूर्ण क्षणमा मुलुकलाई निकास दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेँ । देशका राजनीतिक परिवर्तनसँगै जनताको हितमा केन्द्रित रहेर सहकर्मीसँग काम गर्ने कार्यशैली विकास गरियो ।
सरलीकरण, अनावश्यक कार्यविधि र निर्देशिका खारेजी, ऐन–नियममा समसामयिक संशोधन, सेवाग्राहीमैत्री प्रणाली निर्माण जस्ता कामको नेतृत्व गर्न पाएको छु । यी सबै अवसर राज्यले दिएको अवसर हुन् र मैले ती भूमिकालाई सकेसम्म कुशलतापूर्वक निर्वाह गरेको विश्वास राख्दछु । यी सबै अनुभवले मलाई एउटा गहिरो पाठ दिएको छ, प्रशासन चलाउने शक्ति पदमा होइन, विश्वासमा हुन्छ । नागरिक, सहकर्मी र संस्थाको विश्वास पाउन सकियो भने परिणाममुखी काम सम्भव हुन्छ भन्ने मेरो ३५ वर्षे अनुभवले देखाएको छ ।
कुनै पनि राष्ट्रसेवक आलोचना र प्रश्नबाट भाग्न सक्दैन । सरकारी सेवा केवल प्रशंसा र सम्मानको कथा मात्र हुँदैन, यसमा चुनौती, असहजता, आलोचना र कहिलेकाहीँ गलत आकलन पनि भोग्नुपर्छ । विशेष गरी संवेदनशील र निर्णायक समयमा शत प्रतिशत सबैलाई खुसी पार्न सकिँदैन भन्ने कुरा मैले पटक–पटक अनुभव गरेको छु । जेनजी आन्दोलनका कठिन क्षणमा उपलब्ध साधन–स्रोत, संरचना र सूचनाको भरमा सकेसम्म उचित निर्णय लिने प्रयास गरियो ।
भर्चुअल सचिव बैठक, राजनीतिक समन्वय, यी सबैले नागरिक सरकारको गठनमा महत्त्वपूर्ण योगदान दिए । यसले निजामती सेवाको उच्च नेतृत्वको भूमिका र महत्वलाई स्थापित गरिदियो ।
संघीय निजामती सेवा ऐनबारेको छलफलमा पनि मैले स्पष्ट धारणा राखिरहेँ । आगामी नेतृत्व विकास अवरोध हुने प्रावधानबारे खुला बोल्नु मेरो पेशागत कर्तव्य थियो । तर संस्थागत निर्णयमा भने म सधैँ प्रतिबद्ध रहेँ । आलोचना र प्रशंसा दुवैलाई सेवाको स्वाभाविक चक्र मान्दै अघि बढेँ ।
बिदा हुँदै गर्दा मैले गहिरोसँग अनुभूत गरेको कुरा भनेको राष्ट्रसेवकको जीवनभरको पूँजी पद वा भौतिक संरचना होइन, नतिजासहितको काम हो । यसमा म गर्वको साथ भन्न सक्छु, वैदेशिक रोजगार प्रणालीलाई डिजिटलाइजेशन, सेवा प्रवाह सुगम, सामाजिक सुरक्षा विस्तार, निजामती सेवा अस्पताल र इमिग्रेशन सेवा सुधार, सुशासन र व्यावसायिक वातावरण सुधारतर्फ ठूलो संरचनात्मक सुधार, यी सबै हाम्रा सामूहिक उपलब्धि हुन् ।
जेन–जेड आन्दोलनले हामी सबैलाई सन्देश दिएको छ, नागरिक पारदर्शिता, कार्यक्षमता, सुशासन र सहज सेवा चाहन्छन् । प्रणाली परिवर्तन र अनुकूलन अनिवार्य छ । म पदबाट जाँदै गरे पनि सुधारको आवाज अझ बलियो हुनुपर्छ भन्ने मेरो अटल विश्वास छ ।
मेरो आग्रह छ, निजामती सेवामा साहस नमारौँ । न्यायोचित भएर निर्णय गरौँ । नागरिकका लागि झुक्ने संवेदनशीलता राखौँ । संस्था अगाडि बढाउने दृढता कायम राखौँ । साहसी निर्णयमा सधैँ सहमति हुँदैन, तर इतिहासले सधैँ सत्य र साहसलाई सम्मान गर्छ । नेपालको निजामती सेवा आलोचना वा कठिन परिस्थिति जस्तोसुकै होस्, देशलाई अगाडि बढाउने मुख्य शक्ति हो । बिदाइ भनेको पद परिवर्तन मात्र हो, कर्तव्य, प्रतिबद्धता र राष्ट्रप्रतिको समर्पण कहिल्यै समाप्त हुँदैन ।
म बिदा भएको छु, तर नेपाल र नेपालीप्रतिको दायित्व मेरो हृदयमा जीवनभर रहिरहनेछ । आवश्यक परे भविष्यमा पनि आफ्नो ज्ञान, सीप, अनुभव राष्ट्र र जनताको हितमा प्रयोग गर्न सधैँ तत्पर रहनेछु । निजामती प्रशासनले सुशासन, सेवा प्रवाह र विकासका उच्चतम मानक कायम राख्दै देशलाई आर्थिक समृद्धि, स्थिरता र विकासको सही मार्गमा लैजाओस्, यही मेरो हार्दिक शुभेच्छा छ ।
अन्त्यमा, नेपाल सरकारको निर्णयअनुसार मुख्यसचिवमा नियुक्त हुनुभएका नवनियुक्त मुख्यसचिव श्री सुमनराज अर्याललाई हार्दिक बधाई तथा सफल कार्यकालको मङ्गलमय शुभकामना व्यक्त गर्दछु । निजामती सेवाको यस लामो यात्रामा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग, सुझाव, आलोचना र मार्गदर्शन दिनुभएका सबैप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
आपसी विश्वास, साथ र सद्भावले नै यो कार्यकाल सफल र अर्थपूर्ण बनेको हो । कठिन परिस्थितिमा प्राप्त उपलब्धि एक जनाको प्रयासले होइन, सामूहिक अठोट, इमानदार प्रयास र टिमवर्कले सम्भव भएको हो । मलाई जस्तै आगामी नेतृत्वलाई पनि साथ–सहयोग प्राप्त हुनेछ भन्ने दृढ विश्वास राख्दछु ।
(३५ वर्षे निजामती सेवाबाट अनिवार्य अवकाशमा गएका मुख्यसचिव एकनारायण अर्यालले बुधवार आयोजित बिदाइ समारोहमा राखेको सम्बोधनको सम्पादित अंश)





















