काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

रास्वपाकै नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गर्दै ‘निसर्त’ एकतामा गएका हौं– विवेकशील साझा

1.42K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकताको निर्णयपछि विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले आफूहरू ‘निसर्त एकीकरण’ मा गएको बताएकी छन्।

विवेकशील साझाले बुधबार केन्द्रीय समिति बैठक गरेर रास्वपासँग एकता गर्ने निर्णय गरेको हो। दुई पार्टीबीच आइतबार एकता घोषणा सभा आयोजना हुने तय भएको छ।

विवेकशील साझाका दुवै नेताले राष्ट्रिय स्वतन्त्र पार्टीकै नाम, नेतृत्व, चुनाव चिह्न (घन्टी) लगायत मान्दै निसर्त एकता गरेको बताएका छन्।

‘कहिलेकाहीँ राजनीतिमा दुई कदम पछि हट्न जान्नुपर्ने रहेछ। निसर्त एकीकरण र ध्रुवीकरण आजको आवश्यकता हो भन्ने महसुस गरेर हामी यो प्रक्रियामा गएका हौं,’ विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले भनिन्, ‘यो अरूका लागि पनि पाठ हो।’

उनले अगाडि भनिन्, ‘खाली पदका लागि लेनदेन हुन्छ। तर हामीले पदभन्दा माथि दल र दलभन्दा माथि देशलाई राखेर एकता गरेका छौं। जेनजी आन्दोलनलाई संस्थागत गरेर युवाहरूको सहादतमाथि खेल्नु हुँदैन भन्ने सोच राख्दै ठूलो संस्था बनाएर वैकल्पिक राजनीतिको नेतृत्व गर्न सकियोस् भन्ने हिसाबले हामीले यो निर्णय गरेका हौं।’

विवेकशील र रास्वपाको एकता आफूहरूको ‘सत्प्रयास’ को परिणाम भएको उनले बताएकी छन्।

‘वैकल्पिक राजनीति गर्छौं भन्नेहरूलाई हामीले यतिसम्म पनि गर्न सकिन्छ भनेर देखाइदिएका हौं,’ अध्यक्ष बाँस्कोटाले भनिन्।

विवेकशील साझाकै अर्का नेता रञ्जु दर्शनाले पनि पार्टीको नाम, पद, चुनाव चिह्न र नेतृत्वको प्रश्न किनारामा राखेर निसर्त एकीकरणमा गएको बताएकी छन्।

‘हामी कसैले पनि पदको बार्गेनिङ गरेनौं। विवकेशील अभियानलाई संस्थागत गर्नुपर्छ, आत्मसात् गर्नुपर्छ भन्ने हाम्रो प्राथमिकता थियो। उहाँहरूले यसलाई जगका रूपमा लिनुभयो। त्यसपछि मात्र हामी यसमा आएका हौं,’ उनले भनिन्।

‘सुरूमै कसको पद के हुने भनेर गएको भए राम्रोसँग वार्ता हुँदैन थियो। हामीले यसबारे साथीहरूलाई पनि बुझाएका छौं,’ रञ्जुले अगाडि भनिन्, ‘अहिले कसको शक्ति कति हुने भनेर खोज्ने समय होइन। हामीले फुटको राजनीति गरेर लोकतन्त्र संकटमा पार्ने काम गर्नु हुँदैन भनेर यो बाटो लिएका हौं।’

‘हामीले आफूहरू पद छाड्न तयार छौं भनेर पहिले नै भनेका थियौं। जे भन्यौं, त्यो प्रमाणित गर्‍यौं,’ उनले भनिन्।

आफू लामो समयदेखि जोडिएको विवेकशीलको पहिचान त्याग्न कसरी तयार हुनुभयो त भन्ने प्रश्नमा रञ्जुले भनिन्, ‘विवेकशील नामसँग मेरो पहिचान गाँसिएको छ। म रहुञ्जेल यो पर्यायवाची रहन्छ। तर दुखेसो छैन। नाममा अल्झियौं भने काम अघि बढ्दैन। वार्ता सधैं यस्तै प्राविधिक कुरामा अल्झिन्छ। त्यसैले हामीले बृहत कुरा हेरेर प्रावधिक कुरामा इमोसनल भएनौं।’

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले पनि यो एकताका लागि विवेकशील साझाले कुनै सर्त नराखेको बताए।

उनका अनुसार एकता गरेर जाने विषयमा यसअघि नै सैद्धान्तिक सहमति भएको थियो। त्यही क्रममा विवेकशीलको केन्द्रीय कमिटी बैठकले करिब सर्वसम्मतिमा एकता गर्ने निर्णय गरेपछि बाटो खुलेको उनले बताए।

‘आइतबारसम्म सैद्धान्तिक र नीतिगत कुरा मिलाएर घोषणा गर्छौं,’ उनले भने।

विवेकशील साझाको बुधबार बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले पेस गरेको वैकल्पिक राजनीतिक दलबीचको ‘बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’ सर्वसम्मत अनुमोदन गरेको थियो। त्यसै अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय पारित भएको हो।

IME
khanepani