काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

कात्तिकको झरीले कृषि क्षेत्रमा झण्डै तीन अर्बको क्षति, कोशीमा बढी असर

1.07K
shares
khanepani bord

काठमाडौँ । गत कार्तिक १५ देखि १७ गतेसम्म देशका विभिन्न स्थानमा भएको भारी बेमौसमी वर्षाले मुलुकको कृषि क्षेत्रमा गम्भीर धक्का पुर्‍याएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार तीन दिनको वर्षाले देशभरको कृषि बालीमा कुल २ अर्ब ९१ करोड १६ लाख ९० हजार रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याएको छ ।

प्रतिवेदन अनुसार पाक्ने बेलाको धान बाली खेतमै डुब्दा र काटिसकेको धानमा पानी पस्दा किसानहरूले ठुलो नोक्सानी व्यहोर्नुपरेको तथ्यांकले देखाएको छ । वर्षाले विशेषगरी तराईका जिल्लाहरूमा धान र तरकारी खेतीलाई नराम्ररी प्रभावित पारेको छ ।

धानबालीमा सर्वाधिक असरः २ अर्ब ६६ करोड स्वाहा

प्रतिवेदनको विश्लेषण अनुसार बेमौसमी वर्षाको सबैभन्दा ठुलो मार प्रमुख खाद्यान्न बाली धानमा परेको छ । कुल कृषि क्षतिको ९१.५० प्रतिशत हिस्सा धान बालीले ओगटेको छ ।

देशभरका विभिन्न जिल्लामा गरी कुल २० हजार १ दशमलव ५२ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेती वर्षाबाट प्रभावित भएको छ । यसबाट ७५ हजार ६ सय ७४ मेट्रिक टन धान उत्पादनमा गिरावट आएको र त्यसको बजार मूल्य अनुसार २ अर्ब ६६ करोड ४९ लाख २४ हजार रुपैयाँ बराबरको नोक्सानी भएको मन्त्रालयले जनाएको छ । क्षेत्रफलका हिसाबले झापामा सबैभन्दा बढी धान खेतीमा क्षति पुगेको छ भने बर्दिया, मोरङ र सुनसरीजस्ता अन्न भण्डार मानिने जिल्लाहरू पनि नराम्ररी प्रभावित भएका छन् ।

कोशी प्रदेशमा धेरै क्षति

प्रादेशिक क्षतिको विवरण हेर्दा कोशी प्रदेश सबैभन्दा बढी पीडित बनेको छ । अध्ययन प्रतिवेदन अनुसार कुल क्षतिको ठूलो हिस्सा कोशी प्रदेशमै छ । कोशीमा २ अर्ब ५४ करोड ४३ लाख ६७ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । कोशीपछि मधेस प्रदेशमा २२ करोड ४७ लाख रुपैयाँ र लुम्बिनी प्रदेशमा १३ करोड ६८ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । गण्डकी प्रदेशमा १ करोड ८० लाख ६१ हजार र वाग्मती प्रदेशमा ४७ लाख ६७ हजार रुपैयाँ बराबरको क्षति पुगेको देखिन्छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका धान किसानहरू यो विपदबाट सर्वाधिक मारमा परेका छन् ।

तरकारी र अन्य नगदे बालीमा पनि क्षति

धान बाहेक तरकारी र अन्य बालीमा पनि वर्षाले क्षति पुर्‍याएको छ । प्रतिवेदन अनुसार ५ सय ८६ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट हुँदा करिब २२ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । यो कुल क्षतिको करिब ७.६४ प्रतिशत हो । सुनसरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरूमा तरकारी खेतीमा बढी असर परेको छ । यसैगरी आलु, कोदो, दलहन, तेलहन र केरा खेतीमा समेत वर्षाले असर पुर्‍याएको छ । यी बालीहरूमा ६ सय १ हेक्टर क्षेत्रफल प्रभावित हुँदा २ करोड ४१ लाख १ हजार रुपैयाँ बराबरको क्षति भएको छ । चितवनमा आलु, तोरी र दलहनमा तथा दोलखामा कोदो बालीमा क्षति पुगेको विवरण प्रतिवेदनमा उल्लेख छ ।

कुन जिल्लामा कति क्षति ?

जिल्लागत विवरण हेर्दा झापा जिल्लाले एक्लै धानबालीमा ८० करोड ७३ लाख रुपैयाँ भन्दा बढीको क्षति व्यहोरेको छ । त्यस्तै मोरङमा ५८ करोड ७८ लाख, सुनसरीमा ४५ करोड ३१ लाख र कपिलवस्तुमा २३ करोड ६ लाख रुपैयाँ बराबरको धान नोक्सान भएको छ । बर्दघाट सुस्ता पूर्वमा पनि १८ करोड ६१ लाख रुपैयाँको धान बालीमा क्षति पुगेको छ । पहाडी जिल्लाहरूमा भने तुलनात्मक रूपमा कम क्षति देखिए पनि काभ्रेपलाञ्चोक, दोलखा, धादिङ जस्ता जिल्लामा धान तथा कोदो बालीमा आंशिक असर परेको प्रतिवेदनले औँल्याएको छ ।

khanepani