केपी ओलीलक्षित रिमाको टिप्पणी, प्रधानमन्त्रीको कुर्सीमा बसेर गोली चलेको थाहा नपाउने नेता चाहिँदैन
वि.सं.२०८२ मंसिर १७ बुधवार १५:३५
shares

काठमाडौं । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रहेकी अभिनेत्री तथा सञ्चारकर्मी रीमा विश्वकर्माले केपी ओलीजस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने प्रधानमन्त्री नचाहिने बताएकी छन् । उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै त्यस्ता नेता अब नचाहिने बताएकी हुन् ।
उनले भनिन्, ‘आज देशले जबाफदेही नेतृत्व खोजिरहेको छ । देशको प्रधानमन्त्री जस्तो गरिमामय पोस्टमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब चाहिँदैन ।’
साथै आफू राजनीतिमा आउँछु, देशलाई माया गर्छु र जिम्मेवारी लिन्छु भन्दा जीवनभरिलाई पुग्ने गाली खाइरहेको पनि बताइन् । आफूले मात्रै नभएर खानदानलाई नै पुग्ने गरी गाली खाइरहेको बताइन् । सारा गालीका बाबजुद आफू राजनीतिमा होमिएको पनि बताइन् ।
आफ्नो दियो आफैँ बन्नु भन्ने बुद्धको भनाइ उल्लेख गर्दै भनिन्, ‘आज यो देश र दाजु भाइ, दिदीबहिनीको हालत हेरेर म कसैको भर गर्न सक्दिनँ । म आफ्नै मात्रै भर गर्न सक्छु । त्यसैले आफ्नो दियो आफैँ बन्ने प्रण गरेकी छु । देश र देशवासीका निमित्त उज्यालो बन्ने प्रण गरेकी छु ।’
आफूमा राजनीतिक चेत आएदेखि कुलमान घिसिङलाई नेता मानेको पनि बताइन् । १८ घण्टे लोडसेडिङलाई कुलमानले हटाएदेखि नै आफूले अगुवा मानेको र उनकै नेतृत्वमा देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेको बताइन् ।



















